पुस २५ गते तुलसीपुरमा माघ विशेष थारू सांस्कृतिक कार्यक्रम हुने



दाङको तुलसीपुरमा माघ पर्वको अवसरमा थारू भाषा, संस्कृति, भेषभूषा र मौलिक परम्पराको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यसहित एकदिने माघ विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

थारू सम्वत २६४९ को अवसर पारेर आयोजना गरिने कार्यक्रम यही पुस २५ गते दिउँसो २ बजे तुलसीपुर नमूना भूह्यार थान जवरपुरको प्राङ्गणमा हुनेछ।

नमूना भूह्यार थान जवरपुर, थारू कल्याणकारी सभा क्षेत्र नं. ३, मटावा महासंघ तथा थारू स्वास्थ्यकर्मी समाजको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो।

नमूना भूह्यार थान जवरपुरका अध्यक्ष रामशरण चौधरीका अनुसार पुस १० गते बसेको बैठकले कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

कार्यक्रममा सहभागी महिला तथा पुरुष सबैलाई थारू मौलिक भेषभूषामा उपस्थित हुन अनिवार्य गरिएको छ। साथै, बसाइदेखि लिएर खानपानसम्म सम्पूर्ण व्यवस्था थारू संस्कृतिअनुसार गरिने आयोजकले जनाएको छ। कार्यक्रममा माघमा गाइने ढुमरुलाइ प्राथमिक्ता दिने र  कार्यपत्र प्रस्तुत गरिने तयारी रहेको छ।

कार्यक्रमलाई मौलिक, एकरूप र परिस्कृत बनाउँदै भाइचारा, एकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजक संस्थाहरूले बताएका छन्।

डा. सुरेन्द्र चौधरीले थारू संस्कृति र परम्पराको दस्तावेजिकरणमा जोड दिइने र  अभिलेखीकरण गरिने गरि तयारी गर्नुपर्ने धारणा राख्नुभयाे ।

थारु कल्याणकारी सभाका चुर्ण चाैधरीले थारुहरुकाे पहिचान झल्काउने ठुलो पर्व माघ भएको भन्दै एकआपसमा भाइचारा कायम राख्न दाङका सबै थारुहरु एकजुट गराउन यस कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । साथै उहाँले हराउँदै गएकाे थारु सस्कृति पनि यी यस्तै कार्यक्रमले जगेर्ना गर्ने भएकोले माघ मिलन कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो ।

वडा अध्यक्ष खुसिराम चौधरीले यस्ता सांस्कृतिक कार्यक्रमले थारू समुदायको पहिचान जोगाउन र नयाँ पुस्तामा संस्कृतिप्रतिको जागरण बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।

लुम्बिनी प्रदेश याेजना आयाेग सदस्य भुवन चाैधरीले थारु संस्कृती जगेर्ना गर्नु भनेकाे पहिचान जाेगाउने भएकोले दाङलाइ थारुहरुकाे पहिचान कायम राख्न यी यस्ता सांस्कृतिक कार्यक्रमले राम्रो सन्देश जाने बताउनुभयो ।

आयाेजक संस्थाहरूले उक्त कार्यक्रममा सम्पूर्ण थारू समुदाय, बुद्धिजीवी तथा सरोकारवालाहरूलाई सहभागिताका लागि आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्