
निर्वाचन आयोगले सवारी पासको दुरुपयोग नगर्न सबैलाई अनुरोध गरेको छ। आयोगले आज जारी गरेको विज्ञप्तिमा निर्वाचनको समयमा आवागमन सहजीकरणका लागि छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न स्पष्ट निर्देशन दिएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को मतदान दिन फागुन २१ गते सवारी सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुसार व्यवस्था गरिएको आयोगले जनाएको छ। सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निषेधित क्षेत्र प्रवेश पास प्राप्त व्यक्तिहरूलाई घर–कार्यालय आवतजावतका लागि अलग सवारी पास आवश्यक नपर्ने गरी नेपाल सरकारलाई सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
आयोगले नियमविपरीत सवारी प्रयोग गरेको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाउने चेतावनीसमेत दिएको छ।

