मानव सभ्यताको उद्गम थलो टुई उपत्यका

ढुङ्गे युगमा प्रयोग भएका प्रस्तर औजार र माटाका भाँडाहरू फेला परे


दाङको तुलसीपुर उपमहानगरपालिका १३ मा अवस्थित टुई उपत्यका मानव सभ्यताको प्रारम्भिक उत्पत्ति र विकासको केन्द्र हुन सक्ने ठोस प्रमाणसहितको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि यस क्षेत्रको ऐतिहासिक महत्व पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाली अनुसन्धानकर्ताहरूले गरेको ‘सांस्कृतिक पुरातात्विक प्रारम्भिक सर्वेक्षण’ ले टुई उपत्यकामा प्रागैतिहासिक मानवको दीर्घकालीन बासस्थान रहेको पुष्टि गरेको छ।

सात दिनको स्थलगत अध्ययन र एक महिनाको विस्तृत विश्लेषणपछि तयार पारिएको यो प्रतिवेदन सोमबार सरोकारवालामाझ सार्वजनिक गरिएको हो।

यसअघि सन् १९७८ मा रोबर्ट एम. वेस्ट ले गरेको चुरे पहाडसम्बन्धी अध्ययन, सन् १९८२ देखि १९९२ सम्म गुडरन कर्भिनस ले गरेको भौगर्भिक अध्ययन तथा सन् १९९५ सम्म रेन्डी हलेन्ड ले गरेको पुरातात्विक अनुसन्धानले तुई उपत्यकाको ऐतिहासिक महत्व विश्वसामु चिनाइसकेको थियो। तर हलेन्डको अध्ययनपछि लामो समयसम्म अनुसन्धान प्रक्रिया ठप्पजस्तै बनेको थियो।

तुलसीपुर उपमहानगरपालिकाका पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखा प्रमुख झरेन्द्र खरेल का अनुसार  दाङमा अनुसन्धानबाट के कस्ता ऐतिहासिक सम्पदा छन्, कस्तो अवस्थामा छन् भन्ने स्पष्ट भएको छ। अब यसको संरक्षण र प्रवर्द्धन स्थानीय सरकारले गर्नेछ ।

अनुसन्धान टोलीले गिधनिया, मझकटुवा, रनियापुर, साथै झाँक्री ढुंगा, जन्ति ढुंगा, सीता डेहरी, र दक्षिणी पहाडका जुम्लीकोट, विगुले ढुंगा र राजाकोट क्षेत्रमा विस्तृत अध्ययन र अनुसन्धान गरेको छ।


यी स्थानहरूमा ढुङ्गे युगमा प्रयोग भएका प्रस्तर औजार र माटाका भाँडाहरू फेला परेका छन् जसले यो क्षेत्र प्राचीन मानवको मुख्य बासस्थान भएको पुष्टि गर्छ।

प्रमुख अनुसन्धानकर्ता प्राध्यापक डा. डिल्लीराज शर्मा का अनुसार, दक्षिणी चुरे श्रृङ्खलामा भेटिएका गोही, सर्प र माछाका अश्मीभूत अवशेषहरूले दाङ र तुई उपत्यका कुनै समय विशाल तालको रूपमा रहेको प्रमाणित गर्छन्। कम भिरालो र वनस्पतिले भरिपूर्ण चुरे क्षेत्र प्रारम्भिक मानवका लागि अत्यन्त अनुकूल थियो ।


थारु संस्कृतविद् तथा अनुसन्धानकर्ता अशोक थारु का अनुसार मानव सभ्यताको उद्गम थलो टुई उपत्यका हो भन्ने कुरा आज विश्वभर परिचित बन्दै गएको छ। विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले यस क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्वलाई प्रमाणित गरिसकेका छन्।

टुई उपत्यकाको महत्व केवल पुरातत्वमा सीमित छैन, भाषाशास्त्रीय दृष्टिले पनि गहिरो छ। उहाँका अनुसार प्रारम्भिक जनजातिहरूको जिब्रो पूर्ण रूपमा परिष्कृत नभएकाले दन्त्य ध्वनिभन्दा रेट्रोफ्लेक्स उच्चारण प्रयोग गरिन्थ्यो र त्यही भाषिक विकासक्रमबाट ‘टुई’ शब्दको उत्पत्ति भएको भाषाशास्त्रले पुष्टि गर्छ।टुई उपत्यका केवल भूगोल मात्र होइन, सभ्यता, भाषा र मानव विकासको जरा हो।

तर थारु यस क्षेत्रका ऐतिहासिक चिन्हहरू मानवीय अतिक्रमण, संरक्षणको अभाव र प्रचारप्रसार नहुनुका कारण दिनानुदिन लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुहुन्छ।

उहाँले टुई उपत्यकालाई प्रागैतिहासिक, ऐतिहासिक, पर्यावरणीय र शैक्षिक पर्यटकीय क्षेत्र का रूपमा विकास गर्न बृहत् गुरुयोजना आवश्यक रहेको बताउनुभयो।


यस अनुसन्धान प्रतिवेदनले स्थानीय सरकारलाई उत्साहित बनाएको छ । मेयर खड्काका अनुसार, विशेष अनुसन्धानलाई निरन्तरता दिँदै तुई उपत्यकालाई प्रागैतिहासिक भूगोलका रूपमा विश्वसामु चिनाउने दीर्घकालीन योजना उपमहानगरपालिकाले अघि बढाउनेछ।
यो इतिहास सिंगो दाङलाई विश्वसामु चिनाउने बलियो माध्यम बन्न सक्छ ।


अनुसन्धानकर्ताहरूको निष्कर्ष स्पष्ट छ दाङको माटोभित्र लुकेको तुई उपत्यकाको इतिहास अब उजागर हुनैपर्छ। यदि अब पनि दीर्घकालीन योजना, स्पष्ट बजेट र प्रतिबद्धतासहित संरक्षणको काम अघि नबढाइए टुई उपत्यकाको अमूल्य इतिहास केवल अनुसन्धान प्रतिवेदनमै सीमित हुने खतरा छ।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्