
दाङको तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्य संघको ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष विनिल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री कृष्णप्रसाद शर्माले तुलसीपुरको विकासका लागि हवाई उडान विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहले सबै तालिम सञ्चालन गर्नुभन्दा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अभियानमार्फत यहाँका समस्या तथा सुझाव संकलन गर्न डेस्क स्थापना गरिने र ती सुझाव नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपाल सरकारसमक्ष पुर्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै दाङ र तुलसीपुर मात्र नभई देशको समग्र अर्थतन्त्र विकासका लागि निजी क्षेत्र सक्रिय भएर काम गरिरहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले निजी क्षेत्रले रोजगारी सिर्जना गर्दै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले निजी क्षेत्र सफल भएको मुलुक समृद्ध र आर्थिक रूपमा बलियो हुने धारणा राख्नुभयो ।
कार्यक्रमको सहजीकरण महासचिव केशव केसीले गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा यस क्षेत्रका लोकप्रिय सञ्चार माध्यम रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल तथा रेडियो नेपालका संवाददाता टेकराज भण्डारीलाई सम्मान गरिएको थियो ।

