
तुलसीपुर उपमहानगरपालिकाको नगरस्तरीय पर्यटन समितिको बैठक सम्पन्न भएको छ। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा सम्पन्न बैठकले पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विविध महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गरेको छ।
बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको मानव विकास सभ्यताको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै सो प्रतिवेदनलाई आधार मानी प्राग–ऐतिहासिक क्षेत्रहरूको संरक्षण, संवर्द्धन तथा विकासका लागि उपमहानगरपालिकाको कार्ययोजना बनाई अघि बढ्ने निर्णय गरेको छ।
यस्तै, पर्यटन शाखाको स्वीकृत बजेटअनुसार सिकाइ भ्रमण कार्यक्रम तय गरी तुलसीपुर उपमहानगरपालिकालाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने खालका गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको छ। नगरस्तरीय पर्यटन समिति र होमस्टे सञ्चालकहरू उपयुक्त पर्यटकीय स्थलहरूमा अवलोकन भ्रमणमा जाने व्यवस्था मिलाइनेछ।
बैठकले उपमहानगरका विभिन्न पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसारका लागि होर्डिङ बोर्ड राख्ने, मौलिक कला, संस्कृति तथा जातीय पहिचानको संरक्षणका लागि चालू आर्थिक वर्षको स्वीकृत बजेटभित्र ‘एक वडा, एक नाच’ अवधारणाअनुसार सांस्कृतिक प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, उपमहानगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न पर्यटकीय स्थलहरूमा उपमहानगरपालिकाको मापदण्डअनुसार मनोरञ्जन कर असुल गर्ने निर्णय गरिएको छ।
बैठकमा बोल्दै उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले पर्यटन क्षेत्रको प्रवर्द्धनलाई नीति तथा विधानमा समेटी आजको निर्णयहरू सभा मार्फत पारित गरिने बताउनुभयो।
थारु संस्कृतिविद् तथा समितिका सदस्य अशोक थारुले मानव विकासको टुई सभ्यता अध्ययन प्रतिवेदन र विभिन्न पर्यटकीय क्षेत्रको सिकाइ अनुभवबारे जानकारी गराउँदै टुई क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन तथा बृहत् योजना बनाएर काम गर्नुपर्ने धारणा राख्नुभयो।
अन्य सहभागीहरूले तुलसीपुरलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
बैठकको सहजीकरण पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले गर्नुभएको थियो।

