तुलसीपुरमा महिला नमुना संसद विषयगत समिति संयोजकहरूसँग बैठक सम्पन्न



“हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर; खुसी जनता, समृद्ध तुलसीपुर” भन्ने मूल नाराका साथ तुलसीपुर उपमहानगरपालिका मा महिला सशक्तीकरण र समावेशी विकासका विषयमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

तुलसीपुर शान्ति महिला नमुना संसदका विषयगत समिति संयोजकहरूसँग आयोजित उक्त बैठकमा नगर प्रमुख टिकाराम खड्का, उपमेयर स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पाँडे, सभामुख सीमा न्यौपाने, उपसभामुख सुष्मा लामिछाने तथा महिला नमुना संसदका संरक्षक नवराज लामिछाने लगायतको सहभागिता रहेको थियो।

बैठकमा गैरसरकारी संस्थाको पहलमा स्थापना भएको महिला नमुना संसद हाल स्थानीय तहसँग समन्वय गरी लुज फोरमको रूपमा काम गरिरहेको विषयमा समीक्षा गरिएको थियो। सरोकारवालाहरूले महिला नेतृत्व विकास, नीतिगत बहस र स्थानीय शासनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संसदको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

बैठकका निर्णयअनुसार यहि फागुन ४ गते महिलाहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। उक्त कार्यक्रममार्फत महिलाका हक, अधिकार, नेतृत्व विकास तथा स्थानीय शासनमा सहभागिताका विषयमा जानकारी प्रदान गरिने बताइएको छ।

त्यसैगरी, सबै राजनीतिक दलहरूलाई महिलासम्बन्धी मुद्दा सम्बोधन गर्न आह्वान गर्ने निर्णयसमेत गरिएको छ। महिलाका ध्यानाकर्षणका विविध विषयहरू जस्तै समान प्रतिनिधित्व, हिंसामुक्त समाज निर्माण, आर्थिक सशक्तीकरण र नीति निर्माण प्रक्रियामा पहुँचका बारेमा बैठकमा विस्तृत छलफल भएको थियो।

नगर प्रमुख खड्काले महिला सशक्तीकरणबिना समृद्ध तुलसीपुर सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकार महिलाका मुद्दाप्रति संवेदनशील र प्रतिबद्ध रहेको धारणा राख्नुभएको बताइएको छ।

उपमेयर चौधरीले महिला नमुना संसदले स्थानीय तहलाई नीतिगत सुझाव दिन सक्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।

बैठकले महिला नेतृत्व विकास, समावेशी शासन र लैंगिक समानताको सवालमा साझा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

बैठकको सहजिकरण महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ ले गर्नुभएको थियो। साथै महिला नमुना संसदअन्तर्गतका विषयगत समितिका संयोजकहरूको सक्रिय उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्