
राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ स्थापना दिवसको अवसरमा दाङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वि.सं. २०१८ साल फागुन ७ गते स्थापना भएको राससले आफ्नो स्थापना दिवसका अवसरमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सञ्चार क्षेत्रको भूमिकाबारे छलफल गरेको हो।
रासस दाङ जिल्ला शाखा प्रमुख नारायणी रजौरेकाे अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अधिकारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।
प्रमुख जिल्ला अधिकारी अधिकारीले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र विश्वसनीय बनाउन सुरक्षा निकायले आवश्यक तयारी पूरा गरेको बताउनुभयो। उहाँले जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न प्रशासन, सुरक्षा निकाय र निर्वाचन संयन्त्रबीच समन्वय भइरहेको जानकारी दिनुभयो।
क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजाली मगरलेआचारसंहितामा उल्लेखित प्रावधानबारे स्पष्ट पार्दै पर्चा–पम्पलेटको प्रयोग तोकिएको मापदण्डभित्र रहेर मात्र गर्न पाइने बताउनुभयो। भित्ते लेखन पूर्णरूपमा निषेध गरिएको जानकारी दिँदै उहाँले तीन बाइ चार फिटसम्मको झण्डा प्रयोग गर्न पाइने तर प्रचारका क्रममा साउण्ड सिस्टम, लोगो अंकित टोपी, ज्याकेट तथा चिन्ह प्रयोग गरेर प्रचार गर्न नपाइने उल्लेख गर्नुभयो।
उहाँका अनुसार प्रचारका लागि दुई वटा हलुका सवारी साधन प्रयोग गर्न पाइनेछ भने रेडियो टेलिभिजनले २४ घण्टामा बढीमा चार पटक मात्र प्रचार गर्न पाइने व्यवस्था छ। पत्रिकामा विज्ञापन प्रकाशन गर्दा २५ सेन्टिमिटरको मापदण्ड पालना गर्नुपर्नेछ। साथै, प्रेस काउन्सिलमा सूचीकृत अनलाइन माध्यमले मात्र निर्वाचन प्रचारसम्बन्धी सामग्री प्रकाशन गर्न पाउने प्रावधान रहेको जानकारी गराइयो।
अन्तरक्रियामा सहभागी पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले निर्वाचनजस्तो संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले तथ्यपरक, सन्तुलित र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले आचारसंहिताको पालना गर्दै निष्पक्ष र विश्वसनीय रिपोर्टिङ गर्न आग्रह गर्नुभयो।
मानवअधिकारकर्मी तथा पत्रकार सुशील बस्नेतले विगतका निर्वाचनमा केही व्यक्तिले मुख छोपेर पटक–पटक मतदान गरेको घटना बाहिर आएको उल्लेख गर्दै मतदान केन्द्रमा बायोमेट्रिक प्रणाली जडान गर्नुपर्ने सुझाव दिनुभयो। दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकबाट मत बदर हुने समस्या रहेको उल्लेख गर्दै उहाँले साउण्ड सिस्टमयुक्त भोटिङ प्रणालीको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि छुट्टै लाइनको व्यवस्था गर्नुपर्ने, निर्वाचन अवधिभर मादक पदार्थ बिक्री–वितरण पूर्णरूपमा बन्द गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्वच्छ र पारदर्शी निर्वाचनका लागि सञ्चारमाध्यम, प्रशासन, सुरक्षा निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमकाे शहजिकरण दिपक बाेहराले गर्नु भएको थियाे ।

