
निर्वाचन आयोग ले चुनाव प्रचार–प्रसारका क्रममा धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिनुभएकाे हाे। आयोगका अनुसार धातु वा काठबाट बनेका चुनाव चिह्न बोकी प्रचारमा हिँड्दा सुरक्षा जोखिम बढेको तथा सार्वजनिक शान्तिमा प्रतिकूल असर परेको भन्ने उजुरी र गुनासा प्राप्त भएका छन्।
आयोगले त्यसको सट्टा कपडा, तुल, फ्लेक्स वा कागजमा चुनाव चिह्न प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार प्रचार–प्रसार गर्न सकिने स्पष्ट पारेको छ।
आचारसंहिताले तोकेबमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्यमबाट मात्र प्रचार–प्रसार गर्न पाइने उल्लेख गर्दै सो विपरीत गतिविधि आचारसंहिता प्रतिकूल हुने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार

