
११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसरमा दाङमा महिलाका मौलिक अधिकार सुनिश्चितता र न्यायमा पहुँचका विषयमा अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
ओरेक दाङ र जनचेतना महिला सामुदायिक संस्थाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा कार्यक्रम अधिकृत मीना कँवरले “महिलाका लागि मौलिक अधिकार सुनिश्चितताका लागि न्यायमा पहुँच” विषयमा अवधारणा पत्र प्रस्तुत गर्दै श्रमिक महिलाहरू अझै पनि श्रम, ज्याला, सुरक्षा र सामाजिक सम्मानका सवालमा चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो। उहाँले महिलाले भोगिरहेका समस्या समाधान गर्न राज्य, समुदाय र सम्बन्धित निकाय सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
सहभागी महिलाहरूले श्रमिक महिलाहरूले कार्यस्थलमा विभिन्न प्रकारका समस्या भोग्नुपरेको गुनासो गरेका थिए। उनीहरूले काम गर्ने समयबाहेक अन्य समयमा पनि काम गर्न दबाब दिइने गरेको, समान कामको समान ज्याला नारामै सीमित भएको तथा श्रमिक महिलाको श्रमको उचित मूल्यांकन नभएको बताएका थिए।

कार्यक्रममा बोल्दै महिला मानव अधिकार सञ्जालकी उध्यक्ष पद्मा चौधरीले महिलाहरूले आफ्नो आत्मसम्मान र अधिकारका लागि अब पनि चुप बस्न नहुने बताउनुभयो। उहाँले अन्याय र विभेदविरुद्ध महिलाहरूले आवाज उठाउनुपर्ने भन्दै अधिकार प्राप्तिका लागि एकजुट भएर संघर्ष गर्नुपर्ने समय अझै समाप्त नभएको बताउँनुभयो

।त्यसैगरी,संस्थाकी पूजा वि.क.ले श्रम ऐन २०७४ मा भएका श्रमिकका हकअधिकार, मर्यादित श्रमको परिभाषा, यातनाविरुद्धको हक तथा नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारका विषयमा जानकारी गराउनुभएको थियो। उहाँले महिलाहरूलाई कानुनी अधिकारबारे सचेत भई आवश्यक परे न्यायका लागि कानुनी प्रक्रिया अपनाउन आग्रह गर्नुभयो।
कार्यक्रमका अन्य वक्ताहरूले महिलामाथि हुने हिंसा, विभेद र श्रम शोषण अन्त्य गर्न स्थानीय तह, संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरूले श्रमिक महिलाको सम्मान, सुरक्षा र समान अवसर सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति तथा कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएका थिए।
ओरेक दाङका संयोजक कल्पना चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाकी मनीषा चौधरीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न समुदायका श्रमिक महिलाहरूको सहभागिता रहेको थियो ।।

