पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना



मुलुकमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएका कारण देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ।

आज राति पनि देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्