
दाङमा आयोजित प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रममा थारू सभ्यता, संस्कार र परम्पराको संरक्षणका लागि चार संस्थाले संयुक्त अपिल जारी गरेका छन्। मटावाँ/बरघर/भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब ८ सय मटावाँ/बरघर/भलमन्साहरूको सहभागिता रहेको थियो।
मटावाँ/बरघर/भलमन्सा संघ, थारू कल्याणकारिणी सभा, थारू सांस्कृतिक संरक्षण केन्द्र र बेस संस्थाले संयुक्त रूपमा जारी गरेको अपिलमा थारू समुदायलाई आफ्नै मौलिक संस्कार, संस्कृति र परम्परा जोगाउन आग्रह गरिएको छ। विशेषगरी विवाह संस्कारमा बाह्य संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै परम्परागत शैलीमै विवाह गर्न आह्वान गरिएको छ।
अपिलमार्फत हर्यागुरै, धुर्यागुरै, भुह्यारथान पूजा, अट्वारी, चुकीखैना, भूटमर्ना तथा सामूहिक नाचगानजस्ता मौलिक परम्परा संरक्षण गर्न आग्रह गरिएको छ। साथै स्थानीय सरकारलाई थारू समुदायका ऐतिहासिक तथा पहिचानसँग जोडिएका नाम नबिगार्न र परम्परागत संस्थालाई मान्यता दिन माग गरिएको छ।
प्रदेश र संघीय सरकारसँग मटावाँ/बरघर/भलमन्सा सम्बन्धी विधेयक पारित गरी थारू संस्कार, संस्कृति र परम्परागत व्यवस्थालाई कानुनी मान्यता दिनुपर्ने मागसमेत गरिएको छ। साथै थारू समुदायका मौलिक सिप, हस्तकला तथा उत्पादनलाई आर्थिक विकास र पर्यटनसँग जोड्नुपर्नेमा जोड दिइएको छ।

