तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखाको आयोजनामा एक दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ। तुलसीपुरकाे पर्यटनका क्षेत्रमा पत्रकारको महत्त्वपूर्ण भुमिका हाेस् भन्ने उद्देश्यले तुलसीपुर–७ स्थित राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा तालिम सञ्चालन गरिएको थियो।
कार्यक्रम वडाध्यक्ष रामबहादुर जिसीको अध्यक्षता र नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरमा रहेका पर्यटकीय क्षेत्रहरूको समुचित प्रचार–प्रसार नहुँदा ती क्षेत्रहरू ओझेलमा परेको धारणा राख्नुभयाे ।
“तुलसीपुरमा ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले निकै महत्वपूर्ण स्थलहरू छन्। तर, ती स्थानहरूको पहिचान स्थापित गर्ने खालको प्रचार–प्रसार हुन सकेको छैन। त्यसतर्फ सरकारको ध्यान पुगोस् भन्ने अभिप्रायले पत्रकारहरूलाई अग्रसर भई कलम चलाउन आग्रह गर्छु।”- उहाँले भन्नुभयो ।
मेयर खड्काले तुलसीपुर उपमहानगरलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने दिगो योजनामा आफूहरू लागिपरेको उल्लेख गर्दै भन्नुभयाे- “हामीले पर्यटन प्रवर्द्धनका लागि आन्तरिक नीतिगत र भौतिक पूर्वाधार विकासमा केही कामहरू गरिरहेका छौं। तर, यस्ता कामहरू प्रभावकारी ढंगले देखिने गरी सञ्चार माध्यमबाट प्रसारण हुन आवश्यक छ। त्यसैले पत्रकारहरूले जिम्मेवारीपूर्वक र वस्तुगत ढंगले पर्यटनसँग सम्बन्धित सामग्री उत्पादन गर्नुपर्नेछ।”
“संवेदनशील विषयमा कलम चलेजस्तै, तुलसीपुरको पहिचान निर्माण गर्ने विषयमा पनि पत्रकारहरूले गहिरो चासो दिनुपर्छ। हामीसँग राम्रा सम्भावना छन्, अब तिनको पहिचान र प्रवर्द्धनमा सामूहिक प्रयासको खाँचो छ।”- उहाँले भन्नुभयो ।
नगरप्रमुख खड्काले तुलसीपुरका ऐतिहासिक क्षेत्रहरूको अभिलेखीकरण र अनुसन्धान गर्न पनि आग्रह गर्दै, “हामीमध्ये धेरैलाई आफ्नै सहरका ऐतिहासिक र सांस्कृतिक पक्षबारे गहिरो जानकारी छैन। त्यसैले पत्रकारहरू अनुसन्धान गर्दै नयाँ तथ्य ल्याउन सक्नुपर्छ, जुन नै हाम्रो पहिचानको आधार बन्न सक्छ,” भन्ने धारणा राख्नुभयाे ।
कार्यक्रममा राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले उद्यानलाई तुलसीपुर क्षेत्रकै नमुना पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुुभयाे ।
तालिमका प्रमुख प्रशिक्षक तथा पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पर्यटन पत्रकारिता, यसको महत्त्व, नेपालमा भइरहेको पर्यटन पूर्वाधार विकास, र पत्रकारको भूमिका लगायतका विषयमा प्रशिक्षण दिनुभयाे। उहाले यस प्रदेशलाई धार्मिक, ऐतिहासिक र पर्वतीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न पर्याप्त सम्भावना रहेको बताउनुभयाे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।
पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखाका प्रमुख झरेन्द्र खरेलले उपमहानगरपालिका अन्तर्गत रहेका पर्यटकीय स्थलहरूको पहिचान, प्रचारप्रसार र प्रवर्द्धनका र आर्थिक सवलिकरणका लागि शाखाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयाे ।
तालिममा तुलसीपुर क्षेत्रका दर्जन बढी पत्रकारहरूको सहभागिता रहेको थियो।