
दाङको तुलसीपुर–७ घुसेरीमा चट्याङले आगलागी गराउँदा गोठमा रहेका सबै पशुचौपाया मरेपछि पीडित सागर पौडेलको परिवारलाई सहयोग जुट्न थालेको छ। आगलागीबाट २ भैंसी, ३ खसी, १ बाख्रा र १० कुखुरा जलेर मरेका छन् भने एक गाभिनो भैंसी घाइते भइ मृत्युभएको छ। गोठसमेत पूर्णरूपमा नष्ट भएको छ।
पशुपालनबाट जिविकोपार्जन गर्दै आएको परिवार गहिरो संकटमा परेपछि तुलसीपुर–९ का समाजसेवी केशव सापकोटाले पीडितलाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ। उहाले परिवारलाई पुनः पशुपालनमा फर्कन आग्रह गर्दै यो सहयोग मानवीय धर्म भएको बताउनुभयाे ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसी, सदस्य शोभाराम भण्डारी, लायन्स क्लब दाङ अध्यक्ष गोरख वली, पत्रकार बसन्त पौडेल लगायतको उपस्थिति रहेको थियो।
आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगो आज बिहान साढे २ बजे पूर्णरूपमा नियन्त्रणमा ल्याइएको थियो।

