
पत्रकार महिला मञ्च दाङले निर्माण गरेको ‘पत्रकार महिला सुरक्षा नीति २०८२’ को मस्यौदा नेपाल पत्रकार महासंघ दाङ शाखालाई हस्तान्तरण गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा मञ्चकी अध्यक्ष लक्ष्मी आचार्यले मस्यौदा महासंघ अध्यक्ष सन्तोष सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो।
दाङ जिल्लामा क्रियाशील महिला पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षालाई ध्यानमा राखी बनाइएको नीतिले सञ्चार संस्थाहरु, महासंघ र सरोकारवाला पक्षको भूमिकालाई समेटेको छ।
हस्तान्तरणपछि महासंघका सचिव सविन प्रियासनले नीति महिला पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न मद्दतगार हुने बताउनुभयो। सल्लाहकार दुर्गालाल केसी, उपाध्यक्ष नारायणी रजौरे, ओपेन्द्र बस्नेत, पूर्व उपाध्यक्ष चुमा आचार्य, सहजकर्ता प्रदीप मजगैयाँलगायतले नीतिको प्रभावकारितामाथि धारणा राख्नुभयो।
कार्यक्रमको सहजीकरण मञ्चकी पूर्वअध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।
यसैबीच, महासंघ दाङ शाखाको शुक्रबार बसेको बैठकले मस्यौदालाई आवश्यक संशोधनसहित आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ। साथै नीति निर्माणमा सहयोग पु-याएकोमा पत्रकार महिला मञ्चलाई धन्यवाद समेत दिइएको छ।

