
सूर्य उपासना र आस्थाको पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतधारी महिलाले बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य अर्पण गर्ने परम्परा छ।
चार दिनसम्म मनाइने यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चल्ने गर्छ। पहिलो दिन स्नान एकछाक, दोस्रो दिन ‘खरना’ गरी खीर चढाइन्छ, तेस्रो दिन अर्थात् आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ।
पहिले तराईमा सीमित यो पर्व अहिले राष्ट्रिय पर्वको रूपमा विस्तार भएको छ। सरकारले २०४६ सालदेखि छठ पर्वमा देशभर सार्वजनिक बिदा दिने गरेको छ, बीचमा कटौती भए पनि पछिल्ला वर्षहरूमा पुनः बिदा दिइन थालेको छ।
आज देशभरका नदी, पोखरी र घाटहरूमा व्रतधारी र भक्तजनहरूको भीड लाग्ने क्रम चलिरहेको छ।
प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार

