
ओभरलोड बोक्ने सवारी साधनमाथि कडाइ गर्दै दाङ प्रहरीले निगरानी थप गरेको छ। प्रहरीको विशेष अभियानअन्तर्गत गत दुई दिनमा ८० वटा सवारी साधन नियन्त्रणमा लिइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहका अनुसार जिल्ला प्रहरी मातहतका सबै इकाइलाई परिचालन गरी ढुङ्गा, चुनढुङ्गा, गिट्टी र बालुवा ओभरलोड गर्दै सञ्चालन हुने ट्रक तथा ट्रिपरहरूमा कडाइ गरिएको हो।
चेकजाँचकै क्रममा ओभरलोड अवस्थामा भेटिएका ८० सवारी साधनलाई नियन्त्रणमा लिएर प्रत्येकबाट दुई हजार रुपैयाँका दरले जरिवाना असुल गरिएको प्रवक्ता शाहले जानकारी दिनुभयो।
उहाका अनुसार दुई दिनमा मात्रै १ लाख ६० हजार रुपैयाँ राजस्व असुल गरिएको छ। प्रहरीले ओभरलोडका कारण दुर्घटना जोखिम बढ्ने, सडक संरचना क्षतिग्रस्त हुने र अनुशासनहीनता बढ्ने भएकाले अभियानलाई निरन्तर गर्ने जनाएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार

