घोराही–तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा




दाङमा निर्माणाधीन घोराही–तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न नेकपा एमालेका महासचिव शंकर पोखरेल निर्माणस्थलमा पुग्नु भएको छ। बहुप्रतिष्ठित योजनाका रूपमा रहेको सडकको अवस्थाबारे उहाले डिभिजन सडक कार्यालय दाङबाट जानकारी लिनु भएकाे हाे।

डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टका अनुसार महासचिव पोखरेलले निर्माणमा समस्या आए सहजीकरण गर्न तयार रहेको र निर्धारित समयमै सडक सम्पन्न गर्न आग्रह गर्नुभयाे।

कार्यालयले हालसम्मको प्रगतिबारे जानकारी गराएको छ।
करिब २ अर्ब ८८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो सडक तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित श्री दिवा–बन्दन भगवती जे.भी. ले निर्माणको जिम्मा लिएको छ। सडक ३० मिटर चौडा हुने र हाल माटोपटान, संरचना निर्माण, बिजुलीका पोल सार्ने तथा रुख कटानका काम भइरहेको जनाइएको छ।

यसअघि भारतीय ठेकेदारमार्फत् काम सुस्त भएपछि ठेक्का रद्द गरिएको थियो। अहिले नेपाल सरकारले बजेट विनियोजन गरी नेपाली ठेकेदारलाई काम दिएको हो। घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब २१.५८ किलोमिटर सडकलाई चारलेन बनाइने छ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्