
दाङमा तीनदिने ‘सत्यापन तथा न्यू मिडिया ह्याण्डलिङ’ तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ दाङ को आयोजनामा तथा घोराही उपमहानगरपालिका को आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।
शनिबारदेखि सुरु भएको तालिम चैत ३० गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन सत्रमा प्रमुख प्रशिक्षक पत्रकार धर्मेन्द्र झा ले सत्यतथ्य खोज्नु पत्रकारिताको मुख्य दायित्व भएको बताउनुभयाे। उहाले पत्रकारितालाई संस्थागत बनाउँदै लैजानुपर्नेमा जोड दिँदै स्वरूप परिवर्तन भए पनि पत्रकारिता कहिल्यै नष्ट नहुने उल्लेख गर्नुभ
याे । उहाका अनुसार पछिल्लो समय सञ्चारमाध्यममाथि विभिन्न आरोप लागिरहेका छन् र योजनाबद्ध रूपमा मिडियामाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ।
संघीय सरकारका नीतिका साथै प्रदेश र स्थानीय तहले पनि आफ्नो धारणा स्पष्ट रूपमा राख्नुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयाे । विज्ञापन व्यवस्थापनको सन्दर्भमा स्थानीय तहले स्थानीय मिडियाको संरक्षण गर्ने दायित्व वहन गर्नुपर्ने उनको भनाइ थियो। साथै, पत्रकारहरूले आफ्नो विश्वसनीयता जोगाउँदै मूल उद्देश्यबाट विचलित हुन नहुनेमा उहाले जोड दिनुभयाे ।
कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोखरेल ले सरकारप्रति प्रश्न उठाउने समय आएको बताउनुभयाे। उहाले प्रेसप्रतिको सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने र हरेक सरकारी निर्णय जवाफदेही हुनुपर्ने धारणा राख्नुभयाे ।पोखरेलले विज्ञापन व्यवस्थामा देखिएको सिन्डिकेट प्रवृत्तिप्रति सचेत रहन पत्रकारहरूलाई आग्रह गर्दै यस्ता विषयमा चुप लागेर बस्न नहुने बताउनुभयाे ।
तालिम उद्घाटनका अवसरमा महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पूर्व केन्द्रीय उपाध्यक्ष उदय जिएम लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।
नेपाल पत्रकार महासंघका दाङका अध्यक्ष सन्तोष सुवेदिकाे अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव जेएन सागर ले गर्नु भएको थियाे ।

