
दाङको दंगीशरण गाउँपालिकामा राजाकाेट सामुदायिक वनमा आज एक हजार एक सयभन्दा बढीको सहभागितामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
राजाकोट सामुदायिक वन उपभोक्ता समूह र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वन तथा कृषि सहज कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ, ग्रिन फाउन्डेसन नेपाल, डिभिजन वन कार्यालय दाङ, भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुर तथा ज्ञानोदय इङ्ग्लिस बोर्डिङ स्कुलले सहकार्य गरेका थिए।
राजाकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र मिलन विकको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि रहनुभएको थियो। गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्का तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष एवं ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डे विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, विभिन्न वडाका जनप्रतिनिधि, वन कार्यालयका अधिकारी, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी, विद्यार्थी, स्थानीयवासी, विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, वनकर्मी तथा सामुदायिक वनका उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा वन संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित वृहत् वृक्षारोपण कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

