दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ अन्यत्र लैजान खोजेपछि हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरिएको छ ।
टरिगाउँ विमानस्थलमा दुई महिनाअघि ल्याइएको रिफ्यूलरलाई सरकारले फिर्ता लैजान खोजेपछि रिफ्युलर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीसहित तुलसीपुर उद्योग वाणिज्य संघको टोलीले तालाबन्दी गरेका हुन् ।
दाङको टरीगाउँ विमानस्थलमा इन्धनका लागि दुई महिनाअघि मात्र ल्याइएको ११ हजार लिटर क्षमताको रिफ्युलर अन्यत्र लैजाने तयारी गरेपछि स्थानीय वासिन्दा, तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले विरोध गर्दै आएका थिए ।
एरपोर्टमा नियमित हवाई सञ्चालन लागि राखिएको बाउजर फिर्ता लैजानु खोज्नु षड्यन्त्रपूर्ण भएको उपमेयर चौधरीले बताइन् । उपमेयर चौधरीले जनताको चाहना विपरीत रिफ्युलर लैजान खोजे कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले हवाई इन्धन डिपो कार्यालय दाङलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र मार्फत रिफ्यूलर अन्यत्र नलैजान ध्यानाकर्षण गराइएको छ । रिफ्यूलर अन्यत्र लैजान खोजे सशक्त आन्दोलन गर्ने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।
२०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा इन्धन डिपो नहुँदा नियमित उडान हुन सकिरहेका छैन । सरकारले टरिगाउँ विमानस्थलको रिफ्यूलर धनुषामा लैजान खोजेको भन्दै दाङमा विरोध भएको हो ।