
आज साउन १५ गते । नेपाली समाजमा परम्परागत रूपमा खिर खाएर साउन १५ मनाइँदैछ।
वर्षायाममा तातो खिर स्वास्थ्यका लागि उपयोगी हुने विश्वासका साथै साउनमा गाईभैँसीले बढी दूध दिने भएकाले खिर खाने चलन बसेको मानिन्छ। चामल, दूध, चिनी तथा विभिन्न मसला प्रयोग गरी बनाइने खिरलाई पौष्टिक र सात्विक आहारका रूपमा लिइन्छ।
साउनलाई भगवान् शिवको महिना मानिने भएकाले दूध तथा दूधबाट बनेका परिकार शिवलाई चढाउने धार्मिक परम्परा पनि छ। यही धार्मिक तथा सांस्कृतिक मान्यतासँग जोडिएर साउन १५ मा खिर खाने प्रचलन चलेको विश्वास गरिन्छ।
नेपाली समाजमा असार १५ मा दही–चिउरा र साउन १५ मा खिर खाने चलनसँगै इष्टमित्र तथा चेलिबेटीलाई बोलाएर खुवाउने मौलिक परम्परा रहँदै आएको छ।
खिर खाने परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खिर दिवस’का रूपमा मनाउँदै आएको छ। यस वर्ष आठौँ खिर दिवस मनाइँदैछ।

