
दाङमा बिहीबारदेखि अत्यधिक वर्षा हुने र विभिन्न जोखिम देखिन सक्ने प्रारम्भिक अनुमानपछि जिल्लाका केही स्थानीय तहले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
आज असोज ८ गते बिहीबार र भोलि असोज ९ गते शुक्रबार विद्यालयमा पठनपाठन स्थगित गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा दुई दिन बिदा दिएको छ। उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले वर्षाका कारण विद्यालयमा पठनपाठन स्थगित गरिएको जानकारी दिनुभयो।
यस्तै, घोराही उपमहानगरपालिकाले पनि संस्थागत तथा सामुदायिक विद्यालयमा दुई दिन पठनपाठन स्थगित गरेको छ।
उपमहानगरपालिकाले सूचना जारी गर्दै आज र भोलि विद्यालय बन्द रहने सामाजिक विकास महाशाखाका अजय बोहराले जानकारी दिनुभयो।
यसैगरी, शान्तिनगर गाउँपालिकाले पनि गाउँपालिका अन्तर्गतका सबै विद्यालयमा दुई दिन पठनपाठन स्थगित गरेको छ। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार विद्यालय बिदासम्बन्धी सूचना प्रकाशित गरेपछि बिहीबार र शुक्रबार पठनपाठन स्थगित गर्न अनुरोध गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेले जानकारी दिनुभयो।
यस्तै दङ्गिशरण गाउँपालिकाले पनि दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरेकाे छ । शिक्षा शाखा प्रमुख विनाेद अधिकारीले पालिका भित्रका सबै सामुदायिक र सस्थागत विधालय बन्द गरिएको जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण विद्यार्थीको आवतजावतमा हुन सक्ने कठिनाइ तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

