
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालि तुलसीपुर दाङले दशैँको अवसरमा शुभकामना आदानप्रदान तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा यातायात क्षेत्रको सेवा सुधार, दुर्घटना न्यूनीकरण तथा यात्रुमैत्री सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो।
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले दुर्घटना न्यूनीकरणका लागि दुर्घटना नगराउने चालकलाई पुरस्कृत गर्ने, चालक तथा कर्मचारीलाई ट्राफिक प्रशिक्षण दिने लगायतका काम गर्दै आएको जानकारी दिनुभयो।
उहाँका अनुसार संस्थाले धार्मिक तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ। मन्दिर व्यवस्थापनका लागि १३ वटा विश्वकर्मा मन्दिर निर्माण गर्नुका साथै यात्रुका लागि प्रतीक्षालय निर्माण गरिएको छ। संस्थामा करिब दुई सय कर्मचारी कार्यरत रहेको र कर्मचारीको अनुशासन तथा सेवाभाव अभिवृद्धिका लागि ड्रेस तथा प्रशिक्षणको व्यवस्था गरिएको अध्यक्ष हमालले बताउनुभयो।
यात्राका क्रममा यात्रुले पाउने खानाको गुणस्तर सुधार गर्न पहल भइरहेको भन्दै उहाँले आगामी दिनमा संस्थाले अझै के-कस्ता सुधार गर्नुपर्ने हो भन्ने विषयमा सुझाव दिन आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालि यातायात सेवासँगै सामाजिक क्षेत्रमा समेत बहुआयामिक काम गर्ने संस्थाका रूपमा परिचित रहेको बताउनुभयो।
उहाँले यातायात क्षेत्रको सुधारका लागि सञ्चार क्षेत्रले सकारात्मक भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै सुधारका पक्षहरू निरन्तर रहने बताउनुभयो। यातायात क्षेत्रको सुधार सबैको साझा दायित्व भएको भन्दै अध्यक्ष सुवेदीले पत्रकारहरूलाई तथ्यपरक भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। उहाँले सबै यात्रुको रोजाइको यातायात संस्था बन्न सक्ने गरी सेवा विस्तार गर्न शुभकामना दिनुभयो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यात्रुलाई गुणस्तरीय र सहज सेवा प्रदान गर्न संस्थाले कुनै कसर बाँकी राख्न नहुने सुझाव दिएका थिए। लामो दूरीको यात्रामा बसाइँका लागि सहज सिट, गुणस्तरीय खाना तथा पर्याप्त खानेपानीको व्यवस्था गर्नुपर्ने उनीहरूको सुझाव थियो।
त्यस्तै, भाडादरका विषयमा यात्रुलाई मर्कामा पार्न नहुने, यातायात क्षेत्रमा हुने राजनीतिकरण अन्त्य गर्नुपर्ने र यात्रुलाई बीच बाटोमा अलपत्र पर्ने अवस्था आउन नदिन सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने सुझाव दिइएको थियो। खानाको व्यवस्थापनलाई थप गुणस्तरीय बनाउन पनि सञ्चारकर्मीहरूले आग्रह गरेका थिए।
कार्यक्रमबारे संस्थाका प्रशासन सचिव नारायणप्रसाद न्यौपानेले जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो।

