तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले समृद्घ तुलसीपुरका लागि निवृत्त राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल निवृत्त राष्ट्रसेवक समाज संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले शिक्षक,प्रहरी,प्रशासनिक,प्राविधिक क्षेत्रमा क्रियाशील जनशक्तिसंग लामो अनुभव र ज्ञानको खानी भएकाले ती ज्ञान,सीप अनुभवलाई स्थानीय सरकार सञ्चालनका क्रममा उपयोगमा ल्याइने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि खड्काले पालिकाभित्र रहेको फजुल खर्च नियन्त्रण गरिने बताउनुभयो । उहाँले विकास निर्माणका क्रममा कमसल खालको सामग्रीको प्रयोगले लामो समयसम्म नटिक्ने भत्कने समस्या आएकाले त्यस्ता क्रियाकलाप अन्त्य गरिने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख स्यानी चौधरीले विद्यार्थी ड्रप आउट समस्यालाई रोकिने बताउनुभयो । उहाँले सरकारी अस्पताल र विद्यालयलाई सुधार पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले विपन्न समुदायका नागरिकलाई निशुल्करुपमा औषधी उपचारको व्यवस्था गरिने बताउनुभयो । समाजका अध्यक्ष निमकान्त ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सचिव जनककुमार वलीले गर्नुभएको थियो ।