दाङमा ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने ५ जना पक्राउ



 दाङमा ‘हनी ट्रयाप’मा पारेर पैसा असुल्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोप्लाको परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलिपकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया शर्मिला भन्ने प्रमिला नेपाली रहेका छन् ।

उनीहरुले घोराही उपमहानगरपालिका– १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्तीमगरलाई प्रेम सम्बन्धको नाटक गरी उनीसँग रकम असुल्न खोजेको प्रहरीको भनाइ छ । पक्राउ परेका दिलिपकुमारको संलग्नतामा युवती प्रमिलालाई प्रयोग गरेर उक्त गिरोहले पैसा असुल गर्न खोजेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए ।

प्रहरीका अनुसार प्रमिलाले साउन २६ गते राति ११ बजे सुनचाँदी व्यवसायी घर्तीमगरलाई आफ्नो कोठामा बोलाएकी थिइन् । व्यवसायी घर्ती उनको कोठामा पुगेलगत्तै दिलिप, बिमला, शान्ता र पवित्रा पनि पुगेर उनलाई हातपात गर्नुका साथै बलात्कारको आरोपमा प्रहरीमा उजुरी दिने भन्दै धम्क्याएका थिए ।

त्यसपछि उनीहरुले पैसा दिए प्रहरी कहाँ कुरा नपुग्ने बताए । ‘सुरुमा घर्तीसँग एउटा घडेरी पास गर्न भनिएको रहेछ’ प्रहरी उपरीक्षक काफ्लेले भने, ‘घर्तीले आफूसँग जग्गा नभएको र पैसा दिने बताएपछि नगद र पटक-पटक चेक गरी १२ लाख रुपैयाँ लिएका रहेछन् ।’ काफ्लेका अनुसार घर्तीसँग उनीहरुले १ लाख नगद, २ लाखको २ वटा चेक र ७ लाख २० हजारको अर्को चेक लगेका थिए ।

पक्राउ परेकाहरुमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्