— दिप्तीशिखा चौधरी
थारु समूदायको अट्वारी पर्व भाद्र महिनाको शुक्ल पक्षको आईतबारका दिन मनाईने एक पर्व हो । यो पर्व एक दिन मात्र मनाईन्छ । यो पर्वको आगमनसंगै थारु समुदायमा तेल पेलाउने ,पिठो पिसाउने काम दुई चार दिन देखि नै शुरु भएसकेको हुन्छ । थारुहरु अष्टिम्की पछि अट्वारी पर्व मनाउँने गर्दछन् । थारु महिलाहरुको पर्व अष्टिम्की हो भने पुरुषहरुको पर्व अट्वारी ।
पहिलो दिन
अट्वारी पर्वको पहिलो रात दर (भिन्स¥या भाट ) खाने नाममा भात , माछा चोखो तरीकाले पकाईन्छ । र भाले नबास्दै उठेर दर (भिन्स¥या भाट ) खाने प्रचलन रहेको छ । त्यसपछिको दोस्रो दिन पुरुषहरु ब्रत बस्छन् । दिउँस पुरुष ब्रतालुहरु नुहाईधुवाई गरेर चामलको पिठोको “ठोप्वा” गोलो आकारको रोटि पकाउँछन् । रोटि पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाईएको हुन्छ । सबैभन्दा पहिले पकाईएको रोटी आकारमा अरु रोटी भन्दा ठूलो हुन्छ । जुन रोटी थारु लोकबिश्वास अनुशार भिम ( पाण्डवका बिर पुरुष ) का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै ब्रतालुहरु गोवरले लिपेको ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ । टपरीमा रोटी , काक्रो ,केरा लगाएत अन्य फलफुल ,दहि , घ्यु राखिन्छ । ब्रतालुहरुले आ —आफनो टपरीबाट सबै खाने कुरा अग्नी देवतालाई चढाउछन् । ,जल आमचन गर्छन । त्यसपछि आफनो दुना टपरी बाट अर्को दुना टपरीमा खाने कुरा अलीअली निकाल्छन् । यसरी खानु भन्दा पहिला निकालेको खानेकुरालाई “अग्रासन” भन्ने गरिन्छ ।
दोस्रो दिन
अट्वारीको दोस्रो दिन बिहानै नुहाईधुवाई गरेर ब्रतालुहरु खाना पकाउन थाल्छन् । खाने खानाका लागि तीन ,पाँच अथवा सात प्रकारको तरकारी पकाईन्छ । जसमा पवैको साग सिल्टुङ (एक प्रकारको गेडा ), पाप्रो (गब्डा ) , चिचिण्डो ( कैठा ) अनिबार्य हुनुपर्छ भन्ने गरिन्छ । अन्य मौसमी तरकारी हुनु पर्दछ । खाना पकाईसकेपछि सबै ब्रतालुहरु लिपेको चोखो ठाउँमा बस्छन् । आ–आफनो टपरी र बौँता बाट अलीअली खाना झिकेर अग्नीलाई चढाँछन् । जल आचमन गर्छन र छुट्टै दुना टपरीमा केहि अंश छुट्याएर राख्छन् । त्सपछि आफु खान्छन् । साँझ निकालीएको खाने कुरा र बिहानको खाना “अग्रासन ”आफना दिदि बहिनीहरुलाई दिन जान्छन । आफुले खाने खाना शाकाहारी भएपनि दिदि बहिनीहरु लाई दिन जादा माछा , माशु पकाएर दिन जाने पनि चलन रहिआएको छ ।
चेलीवेटीहरु अग्रासन आउने दिन हर्षीत हुन्छन् । माईतीबाट दिन आउने अग्रासनको बेग्र प्रतीक्षामा बसेर खाना नखाई बस्छन् । कतीखेर मेरो माईतीबाट खाने कुरा आउँला र म खाउँला भनेर प्रतीक्षा गरिरहेका हुन्छन् । यो अग्रासनले माईतीको माया, पे्रम र सद्भावलाई दर्साउँछ । कुनै कारणबश अग्रासन नपाएमा दिदिबहिनीहरु मनको उदासी , छट्पटि र दुःख मान्दै आँशु खसाउँछन् । माईती देश बाट धेरै टाढा रहेको महशुस गर्दछन् । “अग्रासन ” ले यसरी पराई घर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । जुन दाजु भाई दिदिबहिनीको प्रेमको प्रतीक हो ।
अट्वारी पर्व कसरी मनाउँन थालीयो
यस पर्व ऐतिहासीक किम्बदन्ती अनौठो खालको छ भन्छन् अर्का सस्ंकृतीबिद्ध अशोक थारु । थारु भन्छन् –“एक पटक कुनै शत्रुले दंशि माथि आक्रमण गरिदिएपछि रोटि पकाउँदापकाउँदै पाकीरहेको रोटि त्यसै छोडेर भीम दंशीको सहयोगमा गएछन् । संयोगले त्यो दिन आईतबार नै परेछ त्यसैबेला देखि यही घटनाको संझनामा भीमलाई सम्झीएर अट्वारी पर्व मनाउँन थालीएको हो ।”
सस्ंकृतीबिद्ध थारुका अनुशार–आईतबारलाई रविबार पनि भनिन्छ । रवि अर्थात सुर्य जो जीवनको मुख्य उर्जास्रोत हो । थारु सस्ंकृतीमा श्री सूर्यनारायणको आराध्य कन्या कुन्ती महाभारतकी नायिका कुन्तीकोटारिन देवी माईका रुपमा पुजिन्छिन् । उनमा तेत्तीसकोटि देवीदेवताहरुलाई आह्वान गर्ने शक्ति बिधमान थियो । त्यही शक्ति अर्थात मन्त्रको परीक्षण गर्दा रवि अर्थात सूर्य आइपुगी निजबाट कर्ण जसलाई थारुहरु करेङवीरराज भन्दछन् उनको जन्म भएको थियो । थारु संस्कृतिअनुशार छोराको जन्म भएमा “सठौरा पुजा ” पुज्ने चलन छ । जसमा रोटी चढाईन्छ । रवी अर्थात सूर्य ब्रह्माण्डका शक्ति भएको र कोटारिन माइका पूजनीय दुवै भएकाले रवीको सम्झनामा रविबार अर्थात आईतबारका दिन गरिने व्रत उपवासलाई “अट्वारी” भन्न थालिएको हो ।
आधुनिकिकरणमा मीसिदै थारु लोक संस्कृती
थारुहरुको चाड पर्व आधुनिकीकरणसंगै बिस्तारै हराउँदै गएको थारु अगुवाहरु बताउछन् । अट्वारी कोहि थारुहरु तिज अगाबै मनाउदछन् भने कोहि थारुहरु तीज पछि मनाउदै आएका छन् । कुनै गाँउ ठाँउमा भने यी यस्ता पर्व मनाउनै छोडेको पाईन्छ । यसले गर्दा थारुहरु स्वंयम एकजुट नभएर फुटेको प्रष्ट देखिन्छ । बिगत चार पाँच बर्ष यता थारुहरुमा मेलमिलापको बाताबरण देखिदैन । थारु अगुवाहरु स्वंयम “ म ” भन्ने भावनाले ग्रसित हुँदा यस्तो समस्या आईपरेको थारु सस्ंकृतीबिद्ध कृष्णराज सर्वहारीको ठहर छ ।