थारु समुदायको कला संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले दाङको दंगीशरण गाउँपालिकामा माघी विशेष सांस्कृतिक महोत्सव हुने भएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा यही पुस २७ र २८ गते महोत्सवको आयोजना गर्न लागिएको हो ।
थारु भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले माघी साँस्कृतिक महोत्सव आयोजना गर्न थालिएको माघी महोत्सव मुल समितीका संयोजक तथा वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले जानकारीदिनुभयाे ।
महोत्सवमा थारु नृत्यहरु ढोलाहा नाच, कठ्घोरी नाच, लठ्हवा नाच,सोरठी नाच, गोर्या नाच ,थारु हस्तकलासँगै थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी लगायतका विभिन्न परिकारहरु तथा थारु केन्द्रिय तथा जिल्ला स्तरका कलाकारहरुको प्रस्तुती राखिनेछ ।
महोत्सव लाई सफल पार्न तयारीलाइ तिब्र पारीएको छ । अहिलेसम्म ७ वटा वडाका गरी ६४ वटा नृत्य दर्ता भइसकेको संयाेजक चाैधरीले जानकारी दिनुभयो । २ दिनसम्म चल्ने माघी महोत्सवमा सहभागी भइदिन आयोजकले सबैमा आग्रह समेत गरेको छ । गाउँ पालिकाले बिगतदेखि नै माघ महाेत्सव गर्दै आएकाे छ ।