घोराहीमा नगरस्तरिय बाल भेला सम्पन्न, निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन



No description available.

घोराही उपमहानगरपालिकामा नगरस्तरिय बाल भेला सम्पन्न गरिएको छ । जसमा निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चुनिएको छ । अध्यक्ष पदमा पाँच जनाको उम्मेद्वारी दिएकोमा घोराही १४ की मेनुका भुषाल ११ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको छ । यस्तै उहाँका प्रतिस्पर्धी रेणु पुन मगरले ३, भुमिसरा घर्तिले २, प्रविण गौतम र दिपेश बुढाथोकीले १र१ मत प्राप्त गर्दै पराजय हुनुभएको थियो ।

उपमहानगरको सामाजिक विकास समितीका संयोजक राममणी पाण्डेको अध्यक्षता तथा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीको प्रमुख आतिथ्य एवं प्रशासन महाशाखा प्रमुख बाशुदेव आचार्यको विशिष्ठ आतिथ्यमा एक औपचारिक कार्यक्रम गरी सुरु भएको बाल भेलाले सर्वसम्मतीमा उपाध्यक्षमा वडा नंम्वर १९ का सञ्जु पुन, सचिवमा १८ का लक्षमण भण्डारी, कोषाध्यक्षमा ३ का सुस्मिता विश्वकर्मा र सहसचिवमा सरोज डाँगीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा आशिष शर्मा, भुमिसरा घर्ति, प्रविण गौतम, दिपेश बुढाथोकी, रेणु पुन मगर, केशव विक, विभुती भण्डारी, अस्मिता सुनार, सुनिल चौधरी, दिक्षा सुनाम, अनिता चौधरी र सिर्जना द खड्कालाई चयन गरिएको छ । उपमहानगरको समाजिक विकास शाखा प्रमुख मोति विश्वकर्माका अनुसार दुई सदस्य सञ्जालको आगामी वैठकबाट थप्ने निर्णय गर्दै १९ सदस्यि नयाँ कार्यसमिती चयन गरिएको हो । जसको सल्लाकारमा सञ्जालका निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ, निवर्तमान उपाध्यक्ष भोजराज जिसी र पत्रकार चन्द्रप्रकाश नेपालीलाई चयन गरिएको छ । बाल भेलामा बालबालिकालाई विभिन्न प्रयोगत्मक क्रियाकलापमा सहभागी गराईएको थियो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष एवं बाल अधिकारकर्मी दुर्गालाल केसी र बाल अधिकारकर्मी विकिरण गौतमले प्रशिक्षण दिनुभएको कार्यक्रमको सहजिकरण उपमहानगरको समाजिक विकास शाखा प्रमुख विश्वकर्माले गर्नु भएको थियो । निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चुन्न पाउदा बालबालिकाहरु खुशी र उत्साहित देखिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले २०७८ फागुन २३ गते घोषण गरेको बालमैत्री नगर निरन्तरताका लागि घोराहीले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्