११ न. वडाले गर्याे दलित समुदायको सशक्तिकरणका लागि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ निशुल्क हेर्ने व्यवस्था



दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले वडामा दलित समुदायको सशक्तिकरणका लागि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ निशुल्क हेर्ने व्यवस्था गरेको छ ।
वडा कार्यालयले नारायणपुरस्थित भिएफएक्स चलचित्र हलमा प्रर्दशन भइरहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को टिकट काटेर दलित समुदायका ६५ जनालाई चलचित्र हेर्ने अवसर प्रदान गरेको हो ।
वडाले सहभागीहरूको लागि यातायातको सुविधा, नास्ता खर्चसमेत उपलब्ध गराएर आज चलचित्र पनि निशुल्क हेर्ने व्यवस्था गरेको वडा अध्यक्ष मानबहादुर रावतले बताउनुभयो ।उहाँले यस चलचित्रमार्फत समाजमा अझै व्याप्त केही चुनौतीपूर्ण वास्तविकतालाई प्रस्तुत गर्ने प्रयास गरिएको बताउनुभयो ।
उहाँले चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले नेपाली समाजमा आमाबिना बालबालिका अलपत्र पर्ने अवस्थालाई चित्रण गरेको र  एक आमा फेरि विवाह गरेर गएपछि पनि बुवाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सक्छन् भन्ने सन्देश दिएकोले पनि वडाका दलित समुदाय सचेतना दिनलाई वडाले चलचित्र निशुल्क हेर्ने व्यवस्था मिलाएको बताउनुभयो ।उहाँले हाल समाजमा अझै पनि धेरै बालबालिका आफ्ना आमाबुवाको अवहेलनाको कारणले उच्च शिक्षाबाट वञ्चित हुने परिस्थितिको उदाहरण रहेको र यसले अभिभावकहरूको जिम्मेवारीबोधमा सुधार ल्याउनुपर्ने देखाएको बताउनुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित ६५ जना सहभागीहरूलाई ‘पूर्णबहादुरको सारंगी’ चलचित्र हेर्नको लागि वडाले यो अवसर प्रदान गरेको हो ।

समाजमा परम्परागत सोच, जस्तै बुवाले कपडा सिलाए भने छोराले पनि त्यही पेशा अपनाउनुपर्छ, या सारंगी बजाए भने छोराले पनि सारंगी बजाउनुपर्छ भन्ने मनोवृत्तिको अन्त्य गर्न चलचित्रले सघाउ पु¥याउने वडा अध्यक्ष रावतले बताउनुभयो ।

उहाँले चलचित्रले परम्परागत सोचको सीमा चिरेर नयाँ दृष्टिकोण दिने प्रयत्न गरेको बताउनुभयो । वडा अध्यक्ष रावतले दलित सशक्तिकरणका लागि वडाले सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको महत्वलाई जोड दिएको बताउँदै चलचित्र निशुल्करुपमा हेर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

उहाँले चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र नभई समाजमा रहेका विभिन्न समस्याहरूको समाधान र चेतना विस्तार गर्ने माध्यमका रूपमा हेर्न आवश्यक रहेको बताउनुभयो ।

दलित सशक्तिकरण शिर्षकको बजेटबाट चलचित्र हेर्ने व्यवस्था मिलाएको अध्यक्ष रावतले जानकारी दिनुभयो ।  यस्तै नेपाली चलचित्र उद्योगको विकास र प्रवर्द्धनका लागि पनि वडाले आफ्नो क्षेत्रका नागरिकलाई चलचित्र हेर्ने अवसर दिएको उहाँले बताउनुभयो।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्