महोत्सवको उद्घाटन गर्दै मास्कीले पृथ्वीमा सबै जीवको आ-आफ्नै अस्तित्व रहेको भन्दै सर्पको संरक्षणमा जोड दिनुभयो । उहाँले युवापुस्तामा सर्पको संरक्षण गर्नुपर्ने भावना जागृत हुनु निकै सकारात्मक भएको बताउनुभयो ।
महोत्सवमा विषालु र अविषालु सर्पहरू प्रदर्शनमा राखिएका छन् । नागरिकस्तरमा सर्पको महत्व बुझाउन, सर्पको टोकाइबाट बच्ने उपाय, सर्पले टोकिसकेपछि अपनाउने उपायका बारेमा जानकारी दिन सर्प महोत्सवको आयोजना गरिएको सर्प उद्दारकर्ता प्रभात भण्डारीले जानकारी दिनुभयो ।
यस्तै अर्का सर्प उद्दारकर्ता सागर पाण्डेले महोत्सवमा गोमन/डुम सर्प, बिराजु सर्प, अजिङ्गर लगायतका प्रदर्शनमा राखिएको बताउनुभयो । उहाँले विषालु सर्पले टोकेपछि तत्काल उपचार प्राप्त नगरे ज्यान जोखिममा पर्ने बताउनुभयो ।
उहाँले सबै सर्प विषालु नहुने बताउँदै अविषालु सर्पबारे पनि जानकारी राख्नुपर्ने बताउनुभयो ।
महोत्सवमा अविषालु सर्प श्रींगारे सर्प, चिचिण्डे सर्प, धामन र पानी सर्प राखिएको छ । शनिबार कार्तिक १० गतेसम्म संचालन हुने महोत्सवमा विषालु सर्प र अविषालु सर्प चिन्ने तरिका, मानव र सर्प बीचको द्धन्द्ध न्यूनिकरण लगायतका विषयमा जानकारी गराउने आयोजकले जनाएको छ ।
हामी संरक्षणको लागि काम गछौँ नामक संस्थाले विभिन्न संघसंस्थाको समन्वयमा सर्प महोत्सवको आयोजना गरेको हो ।