तुलसिपुर उपमहानगरमा चालु आर्थिक वर्षमा ५० प्रतिशत मात्र ब्यवसाय दर्ता भए



व्यवसायीहरूले दर्ता र नवीकरण प्रक्रियालाई बेवास्ता गर्दा राजस्व संकलनमा गत वर्षको तुलनामा चालु वर्षमा कमी आउने उहाँको भनाइ छ । व्यवसायीलाई विभिन्न समयमा घरदैलो कार्यक्रम मार्फत दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेपनि प्रभावकारी बन्न नसकेको उहाँको भनाइ छ ।

साे अवसरमा  युवा व्यवसायी ओम वलीले नापतौलको जाँचमा व्यवसायीहरुलाई समस्या रहेकाले स्थानिय स्तरमै समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार अहिले नापतौलको जाँचका लागि व्यवसायीलाई नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको छ ।

व्यवसायी भद्र बहादुर वलीले बजारमा दक्ष जनशक्तीको अभाव कायम रहदापनि स्थानीय सरकार दक्ष जनशक्ती उत्पादनमा उदासिनता देखिनु कमजोरी रहेको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीले औद्योगिक विकासका लागि सरोकारवालाहरूले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विश्व बस्नेतले व्यवसायिक प्रवर्द्धनका लागि गहन अध्ययन र तथ्यांकमा आधारित योजना आवश्यक रहेको बताउनुभएको छ । उहाँले खपतका मुख्य क्षेत्रहरू पहिचान, तथ्यांकगत विश्लेषणको महत्वलाई जोड दिनुभयाे ।

तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक तथा नगर प्रवक्ता माधव वलीले प्रतिस्पर्धाको समयमा बजारमा धेरै चुनौती भए पनि स्थानिय सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले व्यवसायीहरूका लागि शान्ति सुरक्षाको प्रत्याभूति स्थानीय सरकारको मुख्य प्राथमिकता रहनेमा जोड दिनुभयो। संयोजक वलीले व्यवसाय सञ्चालन गहन अध्ययन नगरी गरिने प्रवृत्ति देखिएको उल्लेख गर्दै, बजारले खोजेको विषयलाई गहिरो अध्ययन गरी योजनाबद्ध रूपमा सञ्चालन गर्दा मात्र सफलता प्राप्त गर्न सकिने सुझाव दिनुभयो ।

उद्योगी तथा व्यवसायीहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले आफुहरु संधै निजि क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । किसानहरूका लागि  शीत भण्डार निर्माण गरि सुविधा उपलब्ध गराउने काम भइरहेको बताउनुभयो । उहाँले शहरको विकास भए पनि शहरी क्षेत्रहरू अझै अव्यवस्थित रहेको स्वीकार्दै, व्यवस्थित विकासका लागि पालिकाको प्रयास जारी रहेको बताउनुभयो।

उद्योगीहरूको सहजताका लागि औद्योगिक ग्राम परिसरमा तारबार, विद्युतीकरण र पानीको व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले यसले उद्योगीहरूको व्यवसायिक गतिविधिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । दर्ता तथा नवीकरण प्रक्रियालाई थप सजिलो बनाउन अनलाइन प्रणाली लागू गरिएको उल्लेख गर्दै मेयर खड्काले  व्यवसायीहरूले घरमै बसेर यी प्रक्रिया पूरा गर्न सक्ने सुविधा रहेको स्पष्ट गर्नुभयो ।

दर्ता तथा नवीकरण शुल्कलाई स्वाभाविक नै राखिएको भए पनि, व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्याहरूलाई सम्बोधन गर्दै तिनीहरूलाई दायरामा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा तुलसीपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष खड्का,व्यवसायीहरु,दिपक केसि, बिमला शर्मा, जंग बहादुर वली लगाएतले स्थानिय सरकारले कर संकलनमात्र नभई औद्योगिक तथा व्यवसायीक विकासका लागि स्थानीय सरकारले अभिभावकिय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको समन्वयमा कार्यक्रम भएको हाे ।

कार्यक्रमको सहजिकरण उद्यम विकास सहजकर्ता वर्षा थापाले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्