दाङको तुलसीपुर महोत्सव हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो ।
चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति संरक्षणका लागि आगामी फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने जानकारी गराएको छ ।
तुलसीपुर चेम्बर अफ कमर्स का अध्यक्ष ऋषिराज भण्डारीले चेम्बरको आफ्नै भवन निर्माणार्थ आगामी फागुनमा महोत्सव लगाउन लागिएको बताउनुभयाे । महोत्सव तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा संचालन हुन लागेको हो ।
स्थानीय वस्तुको बजारीकरण, पर्यटकीयस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गर्न लागिएको उहाले बताउनुभयाे ।
अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने छ ।
यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बालउद्यान रहने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेशका लागि १०० रुपैँयाको टिकट लाग्ने छ भने ७० वर्ष माथिका जेष्ठ नागरिकले निशुल्क प्रवेश पाउने र विद्यार्थीलाई ५० रुपैया तोकिएको छ । चेम्बरले तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाएर महोत्सव संचालनको अनुमति लिएको हो । महोत्सवमा स्थानीय व्यवसायीलाई २० प्रतिशत छुटमा स्टल प्रदान गरिने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले महोत्सव संचालन अनुमतिका लागि लिने राजश्वमा आगामी दिनमा कमि गराउन नहुने अध्यक्ष भण्डारीले बताउनुभयाे। वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव दुर्गा प्रसाद शर्माले गर्नु भएको थियाे । कार्यक्रममा पूर्व अध्यक्ष टोप बहादुर घर्ती लगायतकाले धारणा राख्नु भएको थियाे भने पत्रकारहरुले महोत्सवको बारेमा जिज्ञासा राखेका थिए ।