आज बिहानैदेखि अवरुद्ध तुलसीपुर–घोराही सडक केहिबेर सुचारु भएपनि फेरि बन्द गरिएको छ । आइतबार तुलसीपुरको हात्तिखौवा चोक नजिकै ट्रकको ठक्करबाट तुलसीपुर– ७ घुसेरीका ५६ वर्षिय जंग बहादुर चौधरीको मृत्यु भएको थियो ।
ट्रकको ठक्करबाट चौधरीको मृत्यु भएपछि दोषिलाई कार्बाही र उचित क्षतिपुर्तिको मागसहित आफन्तले आज बिहानदेखि सडक अवरुद्ध पारेका थिए । बिहान केहिबेर सुचारु भएको सडक अहिले फेरि अवरुद्ध पारिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले मृतकका आफन्तसंग इलाका प्रहरी कार्यालयमा आवश्यक छलफल भइरहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण ढंगले समस्या समाधान गर्ने गरी मृतकका छोरा बाबुराम चौधरी , आफन्त साउने चौधरी, जनप्रतिनिधि, पिडक पक्ष , प्रहरीबिच छलफल चलिरहेको बताउनुभयो ।
तुलसीपुर–६ हात्तिखौवा चोक नजिकै आइतबार दिउँसो ३ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२–००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षिय तीर्थ बहादुर खत्री गम्भिर घाइते हुनुभएको छ । ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ का ४५ वर्षिय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।