आज बिहानैदेखि अवरुद्ध तुलसीपुर–घोराही सडक दिउँसो ४ बजेपछि खुलेको छ । पिडितलाई ५ लाख दिने र तत्काल ५० हजार पाउने सहमति भएपछि अवरुद्ध सडक ८ घण्टापछि खुलेको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भएको छलफलमा पिडितसंग एक साताभित्र दोस्रो चरणको छलफल गर्ने र नियमानुसार ५ लाख दिने सहमति भएको तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।
आइतबार तुलसीपुरको हात्तिखौवा चोक नजिकै ट्रकको ठक्करबाट तुलसीपुर– ७ घुसेरीका ५६ वर्षिय जंग बहादुर चौधरीको मृत्यु भएको थियो ।
ट्रकको ठक्करबाट चौधरीको मृत्यु भएपछि दोषिलाई कार्बाही र उचित क्षतिपुर्तिको मागसहित मृतकका आफन्तले आज बिहानदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध पारेका थिए । बिहानदेखि अवरुद्ध सडक अहिले संचालनमा आएपछि रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् ।
आइतबार दिउँसो ३ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२–००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षिय तीर्थ बहादुर खत्री गम्भिर घाइते हुनुभएको छ । ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ का ४५ वर्षिय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।