दाङको एक इट्टा उद्योगमा काम गर्ने व्यक्तिहरुबिच बिवाद हुँदा तिन जना घाइते भएका छन् । रमेश ओलीले संचालन गरेको तुलसीपुर–१७ बनकट्टीमा रहेको एडिसी इट्टा उद्योगमा काम गर्ने व्यक्तिहरु बिच विवाद भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो साढे १२ बजेतिर इट्टा उद्योगमा काम गर्ने व्यक्तिहरूबीच सामान्य विवाद उत्पन्न भएको र त्यसपछि कुटपिटको घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका भारत बहराइच नानपारा दिहात बस्ने ३१ वर्षका जमुल खानको अबस्था गम्भिर रहेको छ । उहाँको दुबै हात खुट्टा, ढाड र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाँउ बस्ने ५० वर्षका कलिम महिमद र ४८ वर्षका भुजाउ मोहमतको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीले कुटपिट गर्ने ६ जनालाई नियन्त्रणमा लिएको छ ।
भारत बहराइच नानपारा दिहात बस्ने ३२ वर्षका साबिर खान, २२ वर्षका संशेर खान, २४ वर्षका अरवाज खान, बाँके नेपालगंज नगरपालिका १ बस्ने २६ वर्षका खुर्सीद दर्जी, ३५ वर्षका जाखिर दर्जी र ४० वर्षका मोहर अलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिहरूमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।