तुलसीपुर खानेपानीकाे उम्मेदवारकाे टुङ्गाे: कुन पार्टीबाट काे अघि सरे ?



तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि नेकपा एमालेले पनि उम्मेदवारको टुङ्गो लगाएको छ। चुनावमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर जाने निर्णय भएको नेकपा एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिनुभयो।

सचिव डाँगीका अनुसार एमालेले अध्यक्षसहित सचिव, कोषाध्यक्ष, तीन महिला सदस्य र दुई पुरुष खुला सदस्य सहित आठ पदाधिकारी पाएको छ भने राप्रपालाई उपाध्यक्ष पद दिइएको छ।

नेकपा एमालेको तर्फबाट खानेपानी संस्थाका पूर्व सचिव मनोज लामिछानेलाई अध्यक्षको उम्मेदवार बनाएको नेकपा एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिनुभयो। यसअघि एमालेका तर्फबाट बहालवाला सचिव सेवकराम भण्डारी र पूर्व सचिव मनोज लामिछानेको नाम अध्यक्ष पदको उम्मेदवारका लागि चर्चामा रहेको थियो।

यस्तै, उपाध्यक्षमा राप्रपाका तर्फबाट लक्ष्मण केसी उम्मेदवार बन्नुभएको छ। सचिवमा एमालेका भुवन भुसाल, कोषाध्यक्षमा सपना बस्नेत भण्डारी, महिला सदस्यहरूमा छमा भण्डारी, सुशीला ओली र प्रमिला तिवारी रहनुभएको छ।

यस्तै, पुरुष खुला सदस्यमा पदमबहादुर खड्का र सुशील न्यौपानेलाई उम्मेदवार बनाएको सचिव डाँगीले जानकारी दिनुभयो।

माओवादीकातर्फबाट बहालवाला उपाध्यक्ष सीताराम शर्मालाई अध्यक्षको उमेदवार बनाउने यसअघि नै निर्णय भइसकेको छ। गठबन्धनमा माओवादीसहित,राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी , नेकपा विप्लव, नेकपा क्रान्तिकारी र नेसपा रहेका छन्।

दलिय भागवन्डा अनुसार उपाध्यक्ष राष्ट्रिय जनमोर्चालाई दिने सहमति  टुङ्गिएको छ। तर उपाध्यक्षमा कसलाई पठाउने जनमोर्चाले अझै निर्णय गरिसकेको छैन । यस्तै सचिव नेकपा विप्लवलाई दिने गरि सहमति भएकाे छ । माओवादी नेताका अनुसार अध्यक्ष र कोषाध्यक्ष पद आफुहरूले मागेकाे हाे ।तर  रास्वपालेपनि साेही पद पाउनुपर्ने दावि गरेपछि अहिले केहीबेरमा बस्ने बैठकमा टुङ्ग्याइने उहाँले जानकारी दिनुभयो।

यस्तै दलिय सहमति अनुसार  माओवादीले अध्यक्ष सहित दुई सदस्य, राजमाेले उपाध्यक्ष,नेकपा विप्लव सचिव,रास्वपाले काेषाध्यक्ष पदमा उम्मेदवारी दिने छन् । यस्तै एकीकृत समाजवादीले दुई र नेकपा क्रान्तिकारीले एक सदस्य पाउने सहमति भएको छ ।

यसैबिच नेपाली काङ्ग्रेसले भने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । बहालवाला अध्यक्ष यमकान्त भण्डारीलाई नै अध्यक्षमा अघि सारेको छ।  यस्तै कांग्रेसले उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रन्जन गौतम र कोषाध्यक्षमा भोला थापालाई उमेदवार बनाउने भएको छ । थापा अहिलेको बहालवाला कोषाध्यक्ष हुनुहुन्छ । उहाँ यसअघि स्वतन्त्रबाट लोकप्रिय मतका साथ निर्वाचित हुनुभएको थियो ।

चैत २ गते हुने निर्वाचनका लागि आज उमेदवारले मनोनयन दर्ताको समय तोकिएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्