
पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ । तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ ।
रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ ।
पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफैँ जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा होली पर्व मनाउने गरिएको मान्यता छ ।
होलीको अवसरमा सरकारले शुक्रबार तराईका जिल्लामा सार्वजानिक बिदा दिएको छ ।

