लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउनु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गर्नु भएको हो । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिवल लुम्बिनीमा आयोजना गरिएको छ ।
फेस्टिवल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिवलको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबीचको कला र संस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिवल हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।
संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् ।
फेस्टिवलमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । फेस्टिवलमा ५ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम छ ।