सोती घटनामा उच्‍च अदालतबाट २३ जनाको जन्मकैद सजाय सदर

जातीय विभेदको कसुर बदर



उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विक सहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ।

अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए।

‘फैसलामा आंशिक उल्टी भएको छ। रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो। त्यो सदर भएको छ,’ थापाले भने, ‘जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो। त्यसलाई उच्च अदालतले बदर गरेको छ। पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर नै भएकाले आंशिक उल्टी भएको हो।’

जन्मकैद २५ वर्ष हुन्छ।

यो घटनामा डम्बरबहादुर मल्ल (चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष), सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा परिवर्तित नाम ‘५४ रूकुम पश्चिम ३६’ (१) र दाजु ‘५४ रूकुम पश्चिम ३६’ (३) लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

उनीहरूको जन्मकैदको फैसला उच्च अदालत सुर्खेतले सदर गरेको हो।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्