
“पोषण मार्फत जीवन रूपान्तरण परियोजना” कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा पालिका स्तरीय सरोकारवाला तथा सम्बद्ध निकायहरूसँगको एक महत्वपूर्ण समीक्षा बैठक आज सम्पन्न भएको छ।
उक्त कार्यक्रम बेश संस्था दाङको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। बैठकमा तुलसीपुर क्षेत्रका बालबालिकाको पोषण अवस्थाबारे पछिल्लो तथ्यांक प्रस्तुत गरिंदै सुधारको संकेत देखिएको जनाइएको छ।
कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार, पोषिलो पिठो तथा पोषणसम्बन्धी स्वास्थ्य परामर्श सेवाको प्रभावकारिताका कारण ८८ प्रतिशत कुपोषित बालबालिकामा उल्लेख्य सुधार देखिएको छ भने बाँकी १२ प्रतिशत बालबालिका अझै उपचार प्रक्रियामा रहेका छन्।
बैठकमा सहभागी सरोकारवालाहरूले बालबालिकालाई स्वस्थ, चनाखो, दरिलो तथा सक्षम नागरिकका रूपमा विकास गर्न वडा तहका योजना तथा कार्यक्रमहरूमा पोषणलाई प्राथमिकताका साथ समेट्नु पर्नेमा जोड दिएका थिए। साथै, तुलसीपुरलाई पोषणमैत्री पालिका बनाउने दीर्घकालीन लक्ष्यसहित सबै पक्षको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतकाे अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्काकाे प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हाे ।
परियोजनाका दाङ जिल्ला संयोजक सुरेश चौधरीले परियोजनाको हालसम्मको प्रगति र भावी योजना समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत विमल केसीले गर्नुभएको थियो।
समीक्षा बैठकले पोषण सुधारका प्रयासहरूलाई थप प्रभावकारी बनाउन नीति निर्माण, स्रोत परिचालन र कार्यक्रम कार्यान्वयनका पक्षमा सरोकारवालाबीच स्पष्ट समझदारी तथा सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै सम्पन्न भएको थियो।

