
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारको सुरक्षा सरकार, प्रशासन वा कानुनले होइन, आफ्नै सीप, मर्यादा र जिम्मेवारीले सुनिश्चित हुने बताउनु भएकाे छ । नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको विकास पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै उहाले वर्तमान अवस्थामा सञ्चारमाध्यममाथि भइरहेका प्रहारप्रति चिन्ता व्यक्त गर्नुभयाे।
“हामीमाथि निरन्तर प्रहार भइरहे पनि जिम्मेवारीबाट पछि हट्नु हुँदैन,” पोख्रेलले भन्नुभयाे“सत्यको खोजीमा निर्भिक पत्रकारिता नै समाज परिवर्तनको आधार हो।”
उहाले पत्रकारहरूलाई एकताबद्ध भई सामाजिक उत्तरदायित्वप्रति सजग रहन र तथ्यमा आधारित रिपोर्टिङ गर्न आग्रह गर्नुभयाे ।“गलत तथ्यांकका भरमा गलत भाष्य बनाउने प्रवृत्तिलाई पत्रकारिताले चुनौती दिनुपर्छ,” पोख्रेलले बताउनुभयाे ।
उहाका अनुसार “केही पनि भएको छैन” भन्ने भाष्यले उपलब्धि र सम्भावनालाई बेवास्ता गरिरहेको छ, जसलाई तथ्यको अनुसन्धानमार्फत खारेज गर्न सकिनेछ। यसका लागि विकास पत्रकारिता अपरिहार्य रहेको उहाको भनाइ थियो।
तालिम युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव कपिल ज्ञवालीले सञ्चालन गर्नु भएको थियाे। कार्यक्रममा ४० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो।

