तुलसीपुरमा  अचार बनाउने  तालिम सुरु, महिलाहरुलाइ उधमकाे बाटाे खुल्दै



तुलसीपुर उपमहानगरपालिकामा ६० महिलालाई लक्षित गरी सुरु गरिएको १५ दिने अचार उत्पादन तालिमले स्थानीयस्तरमै उद्यमशीलताको सम्भावना केलाउन थालेको छ। तुलसी सामाजिक विकास केन्द्रको अगुवाइ र सामाजिक विकास डिभिजन कार्यालयको सहकार्यमा सञ्चालनमा आएको यो तालिम महिला सशक्तिकरणसँगै घरेलु उत्पादनलाई स्थानीय बजारसँग जोड्ने कोशिसको रूपमा हेरिएको छ।

उनीहरूलाई अचार बनाउने परम्परागत र प्रविधिमूलक सीप, गुणस्तर परीक्षण, प्याकेजिङ र बजार व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान दिइँदैछ। आयोजक संस्थाका अनुसार तालिमको उद्देश्य सीप विकास मार्फत महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु हो।

मुख्य अतिथि तथा डिभिजन कार्यालय दाङका प्रमुख गिरिराज पाण्डेले सीप विकाससँगै निरन्तर अभ्यास र व्यावसायिक सोचको आवश्यकता भएको बताउनुभयो । “सीप सिक्नु मात्रै पुग्दैन, प्रयोग र परिमार्जन जरुरी हुन्छ,” उहाँले भन्नुभयाे ।

वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी बाहिरबाट भित्रिने अचारले स्थानीय बजार ओगटिरहेको बेला, स्थानिय स्तरमै उत्पादन बढाउन सकिएमा उपभोक्ताको रोजाइ पनि बदल्न सकिने बताउनुभयो ।

तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश भण्डारीकाे अध्यक्षता एंव डिभिजन कार्यालय दाङका प्रमुख गिरिराज पाण्डेकाे प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हाे ।

तालिम अवधिमा सहभागीहरूले दैनिक रुपमा विभिन्न प्रकारका अचार बनाउने अभ्यास गर्नेछन्। उत्पादित सामग्रीको प्रदर्शनी आयोजना गरिने तयारी छ। आयोजकले महिला समूहहरूलाई संगठित गरी दीर्घकालीन रूपमा अचार व्यवसायमा लगाउने दीर्घकालीन योजना बनाएको संकेत दिएको छ।

 

प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्