हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारीको पाँचवर्षे योजना तर्जुमा कार्यशाला सम्पन्न

सहकारी सुदृढीकरण, पारदर्शिता र नवप्रवर्तनलाई प्राथमिकता


सहकारी क्षेत्रको दीगो विकास, प्रभावकारी सेवा प्रवाह र प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिका लागि हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पाँचवर्षे रणनीतिक तथा व्यवसायिक योजना तर्जुमा कार्यशाला सम्पन्न गरेको छ। संस्था स्वयंको आयोजनामा तथा ग्रिन फाउन्डेसन नेपालको सहकार्यमा सम्पन्न कार्यशालाले सहकारीको दीर्घकालीन भविष्य दृष्टिकोण निर्माणमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

कार्यशालामा सहभागीहरूले सहकारीलाई आगामी पाँच वर्षभित्र कुन दिशा तर्फ लैजाने, त्यसको कार्यनीति कस्तो बनाउने, र कसरी संस्थालाई अझ पारदर्शी, सशक्त र उद्यमशील बनाउन सकिन्छ भन्ने विषयमा गहन र उद्देश्यपरक छलफल गरेका थिए। सहभागीहरूको सक्रियता र अनुभवको आदानप्रदानले कार्यक्रमलाई थप उपयोगी र प्रभावकारी बनाएको आयोजकले जनाएकाे छ।

कार्यशालाको मुख्य उपलब्धिका रूपमा रणनीतिक तथा व्यवसायिक योजना निर्माणको नेतृत्व गर्ने समिति गठन गरिएको छ। यस समितिमा सहकारी सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, अन्य उपसमितिहरू तथा क्षेत्रगत विज्ञहरू समावेश गरिएका छन्। समितिले यही असार मसान्तभित्र योजना मस्यौदा तयार पार्ने र सो मस्यौदालाई आगामी वार्षिक साधारण सभामा अनुमोदन गराउने लक्ष्य लिएको छ। योजना पारित भएपछि यसको व्यावहारिक कार्यान्वयन सुरु गरिनेछ।

संस्थाले तयार गर्न लागेको पाँचवर्षे योजनामा सहकारीको संस्थागत सुदृढता, पारदर्शिता, सेवा प्रभावकारिता, सदस्यहरूको सशक्त संलग्नता, नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई रणनीतिक प्राथमिकता दिइने जनाइएको छ। स्थानीय आवश्यकता र अवसरअनुसार सहकारीलाई दीगो बनाउने संरचना निर्माणमा योजना विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यशाला सहकारीकी अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा  दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा सहकारीका कानुनी सल्लाहकार भागिराम चौधरीले सहकारी कानुन, उत्तरदायित्व र अवसरका आयामहरूबारे धारणा राख्नु भएको थियाे।

यस्तै, ग्रिन फाउन्डेसन दाङका अध्यक्ष विष्णु बहादुर के.सी, ग्रिन फाउन्डेसन नेपालका उद्यम विकास अधिकृत सुरेश कुमार रावत, कार्यक्रम संयोजक दीपक परियार र पत्रकार दीप्तिशिखा चौधरीले कार्यशालाको औचित्य, सहकारीको सामाजिक भूमिका र योजना निर्माण प्रक्रियाको प्रभावकारिता माथि विचार राखेका थिए।

कार्यक्रमको सुरुवातमा सहकारीका उपाध्यक्ष चक्र मिलन विकले स्वागत मन्तव्य राख्नु भएको  थियाे । सहकारीकी व्यवस्थापक शारदा चौधरीले कार्यशालाको सहजीकरण गर्नु भएको थियाे।

स्थानीय स्तरमा सहकारीको प्रभाव र दिगोपनाको नयाँ अध्याय सुरु गर्ने आशयका साथ सम्पन्न कार्यशालाले नजिकिँदै गरेको योजना निर्माण प्रक्रियामा सहभागी सबै पक्षको साझा ध्येय प्रतिबिम्बित गरेको देखिएको छ। यस्ता अभ्यासहरूबाट सहकारीहरूलाई दीर्घकालीन सोच र व्यावसायिक अनुशासनमा अभ्यस्त बनाउन सकिने विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्