पत्रकार महिलाको सुरक्षा नीति निर्माण सम्बन्धि सरोकारवालासँग कार्यशाला गोष्ठी



पत्रकार महिलाको सुरक्षा नीति निर्माण सम्बन्धि सरोकारवालासँग कार्यशाला गोष्ठी गरिएको छ ।

पत्रकार महिला मञ्चको आयोजनामा आज घोराहीमा सरोकार पक्षसँग पत्रकार महिलाको सुरक्षा नीति निर्माणका विषयमा कार्यक्रम गरी राय सुझाव संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखामार्फत कार्यान्वयनमा ल्याउने गरि तयार पार्न थालिएको पत्रकार महिलाको पेशागत सुरक्षा नीतिलाई दीगो रुपमा कार्यान्वयनमा ल्याउने गरी गर्न सकेमा यसको प्रभावकारीता देखिने अपेक्षा गरिएको छ ।

पत्रकार महिलाहरु जोखिममा रहेको भन्दै उनीहरुले पेशागत सुरक्षाका लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिईएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले पत्रकार महिलाहरूको पेशागत, भौतिक, मानसिक, सामाजिक र समग्र सुरक्षाको सवाललाई सञ्चार माध्यमहरूले विशेष प्राथमिकता दिनेगरी नीति बनाउन सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य मधुसुदन वैद्यले पत्रकारितामा महिलाहरुलाई पेशागत आकर्षण बढाउँदै उनीहरुको सुरक्षा हुने विषयलाई सम्बोधन गर्ने खालको नीतिले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो ।

महिलाको हरेक संवेदनशीलतालाई ख्याल गरेर नीति बनाउन सकेको अवस्थामा नेपाल पत्रकार महासंघको विधानलाई थप समृद्ध बनाउन सहयोग पुग्ने वक्ताहरुको विश्वास छ ।

कार्यक्रममा पत्रकारका तर्फबाट सन्तोष सुवेदी, शरद अधिकारी, सुदर्शन रिजाल, सारदा शर्मा, लीला शाह, दुर्गालाल केसी, सुदीप गौतमलगायतले पत्रकार महिलाको सुरक्षा नीति निर्माण सम्बन्धि धारणा राख्नुभएको थियो ।

पत्रकार महिला मञ्चकी अध्यक्ष लक्ष्मी आचार्यले पत्रकार महिलाको सुरक्षा नीति निर्माण गरेर लागु गर्न सकेको अवस्थामा पत्रकार महिलाहरुलाई पेशागत रुपमा काम गर्न सहजता थप्ने अपेक्षा गरिएको बताउनुभयो ।

प्रभावकारी नीति बनाउन सके भोलिका दिनमा यस क्षेत्रमा काम गर्न सहज हुने विश्वासका साथ पत्रकार महिला मञ्चले नीति निर्माणमा सघाई रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सुरक्षा नीति मस्यौदा तयार गरी सरोकारवाला समक्ष प्रदीप मजगैयाले खाका प्रस्तुत गर्नुभएको थियो । अब उक्त खाकालाई मूर्त रुपमा दिएर पत्रकार महासंघ दाङ शाखालाई उपलब्ध गराउने बताईएको छ ।

कार्यक्रमको सहजीकरण पत्रकार महिला मञ्चकी उपाध्यक्ष सुशीला आचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्