
दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ३ को सबै टोलहरूमा सडक सुविधा पुगेको छ। वडा नम्बर ३ को ठाँटीचौर –लेखतापा टोलमा मोटरबाटो निर्माण कार्य सम्पन्न भए संगै वडाको सबै टोलमा मोटर बाटो पुगेको वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।
वडा नम्वर ३ मा करिव ३५ वडा टोलहरु रहेका छन् । १४ लाख लागतमा ठाँटीचौर-लेखतामा सडक निर्माण भएको र सो सडक बाट त्यस क्षेत्रका १६ घर परिवार र प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ का स्थानियहरु प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
ठाँटीचौर – लेखतापा सडक निर्माणका लागि बंगलाचुली गाउँपालिकाको ३ लाख बजेट, घोराही सिमेन्ट उद्योगको ६ बरावरको मेसीन सहयोग, सम्राट सिमेन्ट उद्योगको ३ लाख बराबरको डिजेल, सरस्वती सामुदायिक वन उपभोक्ता समुहको २ लाख बराबरको डिजेल गरी जम्मा १४ लाख लागतमा ६ किलोमिटर बाटो निर्माण कार्य सम्पन्न भएको हो ।
यसैविच वडा अध्यक्ष शोभाराज विश्वकर्माले मोटर बाटो निर्माणका लागि सहयोग गर्ने सिमेन्ट उद्योग,सामदायिक वन तथा बंगलाचुली गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । वडा अध्यक्ष विश्वकर्माले वडा नम्वर ३ मा करिव ३५ वडा टोलहरु अव सडक संजाल संग जोडिएको बताउनुभयो ।
यसैविच ठाँटीचौर – लेखतापा क्षेत्रमा मोटरबाट बनेपछि त्यहाका स्थानियहरुले बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर र वडा अध्यक्ष शोभाराज विश्वकर्मालाई फुलमालाले स्वागत तथा धन्यवाद ज्ञापन गरेका छन् ।

