सार्वजनिक संरचनामा अपाङ्गमैत्री पहुँच सुनिश्चित गर्न तुलसीपुरमा कार्यशाला



 

सार्वजनिक भवन, सडक तथा सेवाहरूलाई अपाङ्गमैत्री बनाउन आवश्यक पूर्वाधार र नीतिगत सुधारका लागि सरोकारवाला निकायहरूसँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ। ‘सबैका लागि समान पहुँच’ भन्ने नारासहित तुलसीपुरमा सम्पन्न उक्त कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूका विविध समस्या र समाधानतर्फ केन्द्रित रह्यो।

राप्ती बहिरा संघ दाङको आयोजनामा तथा लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहकार्यमा भएको कार्यक्रममा सरोकारवालाहरू, स्थानीय तहका प्रतिनिधिहरू, अपाङ्गता भएका व्यक्तिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रम संघका अध्यक्ष अजयदीप शर्माको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता, उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागिहरूले दैनिक जीवनमा भाैतिक संरचनाको अभावले भाेग्नुपरेको कठिनाइबारे ज्वलन्त उदाहरणसहित आवाज उठाए। सडकमा जथाभावी ब्रेकर तथा पार्किङ, खुला नाला, खाल्डाखुल्डी युक्त बाटोहरूले दृष्टि वा श्रवणमा समस्या भएका व्यक्तिहरूलाई चल्नसमेत मुस्किल पर्ने गुनासो राखे।

“सार्वजनिक शौचालयमा ह्विलचेयरसहित प्रवेश गर्न सकिँदैन,” एक सहभागीले बताए, “जेब्रा क्रसिङमा लठ्ठी लिएर हिँड्दा सवारी साधनहरूले बेवास्ता गर्छन्।”

त्यस्तै, सरकारी कार्यालयहरू अझै पनि अपाङ्गमैत्री नबनेको, सेवाग्राहीको रूपमा जाने बेलामा केही अपाङ्गता वर्ग मात्रलाई हेर्ने र अन्यलाई बेवास्ता गरिने व्यवहार भइरहेको पनि बताए।

सार्वजनिक यातायातमा आरक्षित सिट नपाइने, छुट नपाउने, र नयाँ ठाउँमा गाडी चढ्न–झर्न समस्यामा पर्ने समस्याहरू पनि उठाए।

सार्वजनिक कार्यालयमा दोभाषे सेवा, युनिकोडमा सूचना प्रकाशन, मूल्यसूची बोर्ड अपाङ्गमैत्री भाषामा तयार पार्नुपर्ने सुझाव पनि सरोकारवालाबाट उठाए ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले अब निर्माण हुने सम्पूर्ण सरकारी भवन अपाङ्गमैत्री हुने प्रतिबद्धता जनाउनुभयाे। “नीति तथा कार्यक्रममा अपाङ्गताका सवाललाई समावेश गरिसकेका छौं, अब कार्यान्वयनमा लैजाने चरणमा छौं।”

उहाका अनुसार पालिकालाई नै अपाङ्गमैत्री बनाउने लक्ष्य अनुरूप भौतिक पूर्वाधारमा सुधार गर्दै लगिएको छ।

वालापुर कृषि सहकारीका प्रतिनिधि दीपक गौतमले सहकारीले अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहेको जानकारी दिनुभयाे। “सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिएका छौं,” उहाले भन्नुभयाे।“त्यसैअनुसार कार्यक्रम बनाउँदैछौं र सेवामा पहुँच सहज बनाउन सहयोग गरिरहेका छौं।”

अपाङ्गता क्षेत्रमा सक्रिय रहेकी राप्ती बहिरा संघकी प्रतिनिधि प्रतिमा शर्माले संस्थाको उद्देश्य र कार्यको बारेमा जानकारी दिँदै भन्नुभयाे“समाजमा उदाहरणीय कार्य गरिरहेको छौं। हामी आयआर्जन, शिक्षा, र सशक्तिकरणका माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्ने प्रयासमा छौं।”

कार्यक्रममा देवा दांगीले शारीरिक, श्रवण, दृष्टि तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूल हुने भौतिक संरचनाका नमूना र आवश्यक मापदण्डबारे जानकारी प्रस्तुत गर्नु

भयाे ।

रुपा विककाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्मृति योगीले  गर्नु भएको थियाे ।

कार्यशालाले सार्वजनिक पूर्वाधार र सेवा प्रणालीमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्न बहसमात्र होइन, प्रतिबद्धता र समाधानका दिशामा काम गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ। यस्ता पहलहरू नीतिगत तथा व्यवहारिक रूपमा कार्यान्वयन भए मात्र ‘समान पहुँच र सम्मान’को भावना व्यवहारमा रुपान्तरण हुने थियो।

 

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्