पार्टीको केन्द्रीय निर्वाचन आयोगको बैठक सम्पन्न, पोखरेलद्वारा आयोगलाई बधाई



पार्टीको केन्द्रीय निर्वाचन आयोगको बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न भएको छ । बैठकमा हालसम्म भएका पार्टीका विभिन्न तहका अधिवेशनको समिक्षा र बाँकी रहेका अधिवेशनको कार्यतालिका तय गरिएको छ ।

बैठकमा जानकारी गराइएअनुसार पार्टीको केन्द्रीय योजनाअनुसार सबै प्रदेश र जिल्ला तहका अधिवेशनहरू सम्पन्न भइसकेका छन् । त्यस्तै, हालसम्म करिब ९८ प्रतिशत स्थानीय तह (पालिका) र ९० प्रतिशत वडा तहका अधिवेशनहरू सम्पन्न भइसकेका छन् भने ५० प्रतिशतको हाराहारीमा टोल अधिवेशन सम्पन्न भएका छन् ।

बैठकमा सहभागी पार्टी महासचिव एवं पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले निर्वाचन आयोगको सक्रिय व्यवस्थापनप्रति प्रशंसा व्यक्त गर्दै भन्नुभयाे-“सङ्गठन सुदृढिकरणको महाअभियानअन्तर्गत अधिवेशन प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउन केन्द्रीय निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।”

पोखरेलले आगामी दिनमा बाँकी रहेका टोल तहका अधिवेशनहरू समेत समयमै सम्पन्न गरी पार्टीलाई सबै तहमा पूर्ण संरचना सहित सुदृढ बनाइने प्रतिबद्धता जनाउनुभयाे ।

“निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश र जिल्ला तहका अधिवेशन तथा जनसंगठनका राष्ट्रिय अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएका छन्, जुन पार्टी सङ्गठनको अनुशासन र व्यवस्थापन क्षमताको परिचायक हो ।”-उहाँले भन्नुभयो ।

बैठकले बाँकी रहेका अधिवेशनहरूलाई समयमै सम्पन्न गर्न कार्ययोजना बनाउन निर्देशन दिएको छ । आयोगले निकट भविष्यमा केन्द्रीय अधिवेशनको तयारीलाई पनि तीव्रता दिने जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्