
राष्ट्रपति कार्यालयको खण्डहर बनेको भवन बाहिर आज ( सोमबार) नवनियुक्त तीन मन्त्रीहरूले शपथग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
जेन जि आन्दोलनका क्रममा भएको आगजनीका कारण शीतल निवास बस्नै नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री कार्कीको शपथ राष्ट्रपति निवासभित्रै भएको थियो भने आज मन्त्रीहरूको शपथ कार्यक्रम खण्डहर भवन बाहिर पाल टाँगेर व्यवस्थापन गरिएको हो ।
शपथ कार्यक्रममा सरकारी निकायका प्रमुखहरू र विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरूसहित अन्य अतिथि पनि सहभागी थिए ।
आज शपथ लिने मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल रहेका छन् । घिसिङलाई तीन मन्त्रालय र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

