
जेनजी आन्दोलनले क्षति पुर्याएपछि रोकिएको सेवा भोलि मंगलबारदेखि तुलसीपुर उपमहानगरपालिकाले जलेकै भवनबाट दिन सुरु गर्ने भएको छ। सोमबार बसेको नगर कार्यपालिकाको ३८ औँ बैठकले कठिन परिस्थितिमा पनि नागरिकलाई नियमित सेवा दिने निर्णय गरेको हो।
नगरका प्रवक्ता माधव वलीका अनुसार तत्काल पाल टाँगेर सेवा दिइनेछ भने केही दिनपछि मर्मत सम्पन्न भएपछि नवनिर्मित व्यापारिक भवन (ट्रेड टावर) बाट सेवा सञ्चालन गरिनेछ।
यस्तै, नगरका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब नलिने निर्णय गरेका छन्। उक्त रकम भौतिक निर्माणमा खर्च गरिनेछ।
बैठकले आन्दोलनका क्रममा निधन भएकाप्रति शोक प्रस्ताव पारित गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ। साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेको पहिचान गरी कारबाहीको माग समेत गरिएको छ।
प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार

