
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुने विभागले जनाएको हो।
आज रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने अनुमान गरिएको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा समेत वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
एकदुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको बताउँदै विभागले दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार

